Advertisement
|
ललितपुरका प्रवीण शाक्य लगातार ४ दिनसम्म राजधानीका अधिकांश वाणिज्य बैंकको कार्यालय धाउँदा पनि ५ सय अमेरिकी डलर पाउन सकेनन् । अन्तत: उनी ठमेलका मनी एक्सचेन्ज (मुद्रा सटही) काउन्टरमा पुगे । गत आइतबार उनले एउटा मनी चेन्जरबाट प्रतिडलर १ सय १३ रुपैयाँका दरले डलर किने । डलर पाएर पनि उनको समस्या समाधान भएन । अब उनलाई त्यो डलरको वैधता चाहियो । कानुनत: मनी चेन्जरले डलर बेच्न पाउँदैनन् । थाइल्यान्ड जान चाहने शाक्यलाई आफ्नो राहदानीमा मुद्रा साटेको छाप चाहियो । नेपालमा त्यो छाप लगाउने अधिकार वाणिज्य बैंकलाई छ ।
त्यसपछि त्यही मनी चेन्जरका सञ्चालकले उपाय सुझाए, ‘दाइले अस्ट्रेलियाबाट ल्याएको भनेर बैंकलाई डलर बेच्नुस् । त्यही डलर फेरि आफैँले किनेर राहदानीमा छाप हान्न लगाउनुस् ।’ शाक्यले त्यही उपाय अपनाए । उनले १ डलरका लागि १ सय १३ रुपैयाँ ६० पैसा तिर्नुपर्यो । जब कि नेपाल राष्ट्र बैंकले त्यस दिनका लागि अमेरिकी डलरको विनिमय दर १ सय ७ रुपैयाँ ७६ पैसा तोकेको थियो । वाणिज्य बैंकले यही मूल्यमा डलर बिक्री गर्नुपर्ने बाध्यता नभए पनि ठूलो मात्रामा तल–माथि गर्न पाउँदैनन् । पछिल्ला दिनमा शाक्यजस्ता अधिकांशले यस्तै नियति खेप्नुपरेको छ । वाणिज्य बैंकमा नगद अमेरिकी डलरको चरम अभाव देखिएपछि यस्तो परिस्थिति सिर्जना भएको हो । यसबाट रोजगारी, भ्रमण, अध्ययन र स्वास्थ्योपचारका लागि बिदेसिने नेपालीले कालोबजारीबाट अमेरिकी मुद्राको खरिद गर्नुपरेको छ ।
किन अभाव भयो डलर ?
चीनबाट सुनको अवैध आयात गर्न डलरको माग बढेपछि संकट देखिएको हो । ‘३ महिनायता बैंकले आयात गरेको सुन बिक्री नभई थन्केको छ,’ एक बैंकरले भने, ‘त्यही कारण अहिले बैंकमा डलरको निक्षेप पनि आएको छैन ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि वाणिज्य बैंकमा नगद डलरको निक्षेप जम्मा हुने क्रम लगभग शून्यको स्थितिमा झरेकाले नगद डलरको अभाव भएको बताए । तर, नगद डलरको निक्षेप घट्नुका कारण भने थाहा नभएको उनले बताए । सुनचाँदी व्यवसायीले भने बैंकरको उक्त अनुमानलाई खण्डन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘अहिले सुनको दैनिक कारोबार १० किलो छ । नयाँ सुनको माग (फ्रेस डिमान्ड) त शून्यकै अवस्थामा झरेको छ ।’ बजारमा सुनको माग नै नभएकाले सुनको अवैध आयात पनि नभएको उनले दाबी गरे । ‘केही अघिसम्म त्यस्तो थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर अहिलेको अवस्थामा सुनका लागि डलरको गलत प्रयोग भएको छैन ।’
कति आउँछ डलर ?
नेपालमा नगद डलर भित्र्याउने मूल स्रोत पर्यटकहरू नै हुन् । उनीहरूले आफ्नो देशबाट नगद डलर ल्याउँछन् र यहाँ खर्च गर्छन् । त्यही नगद हाम्रो वित्तीय प्रणालीमा परिचालन हुन्छ । पर्यटन बोर्डका अनुसार अहिले वर्षातको बेमौसममा हरेक महिना करिब १९ हजार पर्यटकले नेपाल भ्रमण गर्छन् । उनीहरूको औसत बसाइ १३ दिन छ भने एकजनाले हरेक दिन औसत ७० डलर खर्च गर्ने गरेको पाइन्छ । यस आधारमा वर्षातको समयमा पनि नेपाल आउने पर्यटकले हरेक महिना १ करोड ७४ लाख २३ हजार अमेरिकी डलर खर्च गर्नुपर्ने हो । त्यसमध्ये विदेशबाट नेपाल आउने पर्यटकले क्रेडिट कार्डको प्रयोग बढी गर्ने गरेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ती पर्यटकले आफ्नो खर्चको १० प्रतिशत मात्रै नगद डलर ल्याए पनि हरेक महिना १७ लाख ४२ हजार हुनुपर्ने हो । तर, बैंकरका अनुसारमा पछिल्ला केही महिनायता बैंकमा जम्मा हुने डलरको परिमाण ज्यादै कम छ ।
आँखा चिम्लियो राष्ट्र बैंकले
बजारमा विदेशी मुद्राको अवैध कारोबार फस्टाउँदै गए पनि नियामक निकाय नेपाल राष्ट्र बैंकले नियमन भूमिकामा आँखा चिम्लिदिएको सरोकारवालाको आरोप छ । ‘बजारमा हाकाहाकी डलरको कालोबजारी भएको छ,’ नुवाकोटका परशु कार्कीले भने, ‘राष्ट्र बैंक के हेरेर बसेको होला ?’ तर, राष्ट्र बैंकका अधिकारी भने कालोबजारीबाट डलर किन्नुभन्दा प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने बताउँछन् । ‘हाम्रो देशमा सबै व्यवस्था सरकारले मिलाइदेओस् भन्ने अपेक्षा गरिन्छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘विदेशीले डेबिट–क्रेडिट कार्डको प्रयोग गर्छन् भने हामीले पनि गर्नुपर्यो नि ।’
यसकारण भयो नगद डलर अभाव
नरबहादुर थापा
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
भूकम्प, नाकाबन्दीलगायत कारणले पर्यटकको संख्या नै घट्यो ।
नेपाल आउने पर्यटकले पनि नगद डलर ल्याउनेभन्दा क्रेडिट–डेबिट कार्डको प्रयोग बढाउन थाले ।
विदेशबाट नेपाल आउनेभन्दा नेपालबाट विदेश जानेको संख्या र खर्च बढी हुन थाल्यो । यसले नगद डलरको माग बढायो ।
नेपालीले प्लास्टिक मनीभन्दा नगद डलरलाई बढी प्राथमिकता दिइरहे ।
अनौपचारिक बजारमा महँगोमा बेच्न पाउने भएपछि बैंकिङ क्षेत्रमा डलर भित्रिने क्रम नै कम भएर गयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...