Advertisement
|
सिन्धुली: सिर्थौली-७ पाखाटोल सिन्धुलीका जंगबहादुर योन्जन मंगलबार लट्ठी टेक्दै तीन भाइ छोरा लिएर अंशबण्डा गर्न मालपोत कार्यालय सिन्धुली आइपुगे ।
व्यवहारिक रूपमा छोराहरू आआफ्नो तबरले छुट्टिएको दशक भयो तर उनले छोराहरूका लागि गरिदिनुपर्ने अंशबण्डा मौखिक रूपमा मात्र गरिदिएका थिए । कानुनी रूपमा भागबन्डा गरिदिन भ्याएका थिएनन् ।
उनलाई र उनका छोराहरूलाई पनि अंशबण्डा गर्न कुनै हतार थिएन । तर गत वैशाख १२ गतेको भूकम्पपछि सरकारले दिने भनेको पुनर्निर्माणको अनुदानका लागि अनिवार्य अंशबण्डाको प्रमाण खोजेपछि पाँच भाइका पिता योन्जन मालपोत कार्यालय आइपुगेका हुन् ।
अंशबण्डा नगरेका र आफ्नै लालपुर्जा नभएकालाई अनुदानको दुई लाख नदिने भन्ने सुनेपछि योन्जन भूकम्प गएको १३ महिनापछि छोरालाई अंशबण्ड गरिदिन आएका हुन् । योन्जनका पाँच भाइ छोरामध्ये दुई भाइ विदेशमा छन् । घरमा भएका जेठो, माहिला र काहिलो छोरालाई अंशबण्डा गरेर उनीहरूले पाउने जग्गा जमिन भाग लगाइदिन उनी आएका हुन् ।
सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदान लिन गत वर्षको वैशाख १२ अघि अंशबण्ड गरेर बसेको हुनुपर्ने र भूकम्प प्रभावित घर निर्माणका लागि लाभग्राही स्वयंको नाममा जग्गाको लालपुर्जा हुनुपर्ने व्यवस्था छ ।
आफूलगायत दुई भाइ छोराको घर भुकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माणका लागि सरकारले दिने भनेको अनुदान पाउनका लागि लभग्राहीको सूचीमा परेको तर काहिँला छोरा भने सूचीमै नपरेको उनी बताउँछन् ।
लाभग्राहीको सूचीमै परेका दुई भाइ छोराको पनि छुट्टिएर बसेको बर्सौ भए पनि अंशबण्डाको प्रमाण नभएपछि सम्झौता हुन सकेको छैन ।
'काहिँला छोराको नाम लाभग्राहीको सूचीमै रहेनछ । सूचीमा पर्नेहरूको सम्झौताका लागि र नपरेको छोरालाई सूचीमा राख्न गुनासो दर्ताकै लागि पनि लालपुर्जा र अंशबण्डाका कागजात आवश्यक पर्ने भएपछि जिल्ला आएको हुँ,' उनले भने ।
अनुदान पाउनेको सूचीमा परे पनि लालपुर्जा र अंशबण्डा नभएपछि गाविसमा सम्झौता गर्न नपाएको योन्जनका माहिला छोरा पालबहादुर योन्जनले बताए ।
'मेरो र दाजुको अंशबण्डा नभएपछि सम्झौता भएको थिएन ।भाइको लाभग्राहीको सूचीमै नाम नभएपछि गुनासो दर्ताका लागि पनि अंशबण्डा खोजेपछि बुबालाई लिएर मालपोत आएका हौं,' योन्जनका छोरा पालबहादुरले थपे ।
योन्जन परिवारजस्तै भूकम्पले ध्वस्त बनाएको घर पुनर्निर्माणका लागि अंशबण्डा आवश्यक भएपछि कुशेश्वर दुम्जाका निर्मल क्षेत्री पनि छोराहरूलाई अंशबण्डा गरिदिन जिल्ला आएका छन् ।
भूकम्पपछि घर ध्वस्त भएकाहरूलाई पुनर्निर्माणका लागि अनुदान लिन अंशबण्डा र नक्सा पासका लागि लालपुर्जा अनिवार्य भएपछि योन्जन र क्षेत्रीजस्तै अंशबण्डा गराउनेहरूको संख्या ह्वात्तै बढेको छ । जिल्लामा भूकम्प प्रभावितको संख्यासमेत वृद्धि भएको छ ।
जिल्ला मालपोत कार्यालय सिन्धुलीका अनुसार पछिल्लो समय अंशबण्डा गर्नेहरूको संख्या दैनिक बढ्दै गएको छ । निमित्त मालपोत अधिकृत भगिरथ सिग्देलका अनुसार हिजोआज मालपोतमा दैनिक दर्जनौंको संख्यामा अंशबण्डा गर्न आउने गरेका छन् ।
जिल्लामा अहिले घरजग्गाको किनबेचभन्दा अंशबण्डा गराउनेको संख्या धेरै छ । गत वैशाखयता मात्र जिल्लामा एक सय ८० परिवारको अंशबण्डा भएको छ । भूकम्पको अनुदानका लागि मात्र उनीहरूको अंशबण्डा भएको सिग्देलले बताए ।
'गत वर्षहरूमा किनबेच धेरै तर अंशबण्डा दैनिक रूपमा एक दुई मात्र हुने भए पनि अनुदान पाउने भूकम्पपीडितको नाम सार्वजनिक भएपछि गत वैशाखयता अंशबण्डा गर्नेको संख्यामा ह्वात्तै बढेको हो,' उनले भने ।
गत वैशाख महिनामा ७७ जनालो अंशबण्डा गराएकोमा जेठ महिनामा त्यो संख्या बढेर एक सय तीन पुगेको उनको भनाइ छ । यो अन्य महिनाको तथ्यांकको आधारमा धेरै हो ।
जिल्लामा भूकम्पलगत्तैको तथ्यांकअनुसार पूर्ण रूपमा निजी घर क्षति हुनेहरूको संख्या २२ हजार रहे पनि हाल पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको लाभग्राहीको संख्या बढेर ३४ हजार सात सय पुगेको छ ।
यसले पनि जिल्लामा भूकम्प प्रभावित परिवारको संख्यासँगै अंशबण्डा गर्नेहरूको संख्यामा वृद्धि भएको पुष्टि गर्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...