Advertisement
|
सलमान रुस्दीले पाँचौँ किताब ‘द सटानिक भर्सेज’बाट अत्यन्त धेरै चर्चा कमाए । सन् १९८९ मा यही किताब लेखेपछि उनीविरुद्ध फतवा जारी भयो । तर, ४० वर्षसम्म निरन्तर लेखिरहेका रुस्दीका १७ भन्दा धेरै किताब प्रकाशित छन् । आखिर उनी कसरी पुस्तक लेखन सुरुवात गर्छन् त ? केले उनलाई पुस्तक लेख्न प्रेरित गर्छ ? एक बेलायती पत्रिकाले सोधेको प्रश्नमा उनले जवाफ दिएका छन्
कुनै एउटा विचारले मलाई बारम्बार घचघच्याइरहेको छ भने म त्यो विषयमाथि लेख्न थाल्छु । कहिले लेख्नका लागि एकजना मानिसको जीवनले प्रेरित गर्छ भने कहिले एउटा घटनाले । जब प्रत्येक बिहान उठ्दा ममा कुनै एउटा विचार खेलिरहेको हुन्छ तब म लेख्न अभिप्रेरित हुन्छु । प्रत्येक बिहानको विचारले नै मलाई सशक्त लेख्न आतुर बनाउँछ । तर, कहिलेकाहीँ एउटै विचारमाथि लेख्न पनि वर्षौं लाग्छ । मैले ‘द इन्चान्ट्रेस अब फ्लोरेन्स’ लेख्दा पनि कैयौँ वर्ष सोचेको थिएँ । त्यतिवेला मनमा उत्पन्न विचारबारे म आफैँलाई भन्थेँ– कुनै दिन यो विषयमा पनि लेख्नेछु । म त्यतिवेला अकबर र निकोलो मासिएभेलीबारे सोच्थेँ । तर, यी दुवै मेरो एउटै उपन्यासमा पात्र भएर आउलान् भन्ने मलाई लागेकै थिएन । तर, उनीहरू अचानक संवादमा आए र एक–अर्कासँग बोल्न थाले । अनि एउटै उपन्यासका पात्र पनि भए । मैले आफूलाई सधैँ काम गरिहाल् भन्दै आएको छु । जस्तो कि लेखन पनि एउटा ‘नाइन टु फाइभ जब’ हो । मुड ठीक होस् या नहोस्, जुनसुकै दिन लेख्न बसिहाल्नुपर्छ । एउटा सर्जकले आज मुड छैन भन्नै हुँदैन । मेरो त अहिले यो एउटा रुटिनजस्तै भएको छ । जब कसैको पनि दिमागले केही सोच्न थाल्छ, त्यसपछि त्यहाँ कुनै पनि ‘एक्स्क्युज’ बन्दैन । कुनै समय म दैनिक चार–पाँच पेज लेख्थेँ । अहिले समय फेरिएको छ । तैपनि, म दैनिक कम्तीमा पनि चार–पाँच सय शब्द लेख्छु । त्यसो त पहिले ‘रिभिजन’ अत्यधिक गर्नुपर्ने हुन्थ्यो । अहिले भने एकपटकमै म लगभग फाइनलजस्तो बनाएर लेख्छु । कहिलेकाहीँ लेखिसकेको कथा आफैँलाई चित्त बुझ्दैन । त्यस्तो समयमा म पुन: कथा लेख्छु । मानौँ, म नयाँ कथा लेख्दै छु । लेखन नै एउटा आविष्कार हो भन्ने मलाई लाग्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...