Advertisement
|
सन्तोष खनाल २४ वर्षका भए । दाङसिङ–८ नुवाकोट स्थायी घर भएका उनी काठमाडौंमा बस्छन् । बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी कलेजमा तेस्रो वर्षमा अध्ययनरत छन् । सन्तोषको विषय हो– इलेक्ट्रिकल इन्जिनियरिङ । सन्तोष आज जुन धरातलमा छन्, उनकै भनाइमा यो दोस्रो जीवन पाउदाको परिणाम हो । किनभने, डाक्टरले त एक दशकभन्दाअघि नै उनको मृत्युको मिति तोकिदिएका थिए । सानै छँदा ब्लड क्यान्सरले पीडित सन्तोषको उपचार गर्दागर्दै डाक्टर थाके, तर बाँच्ने उनको आत्मविश्वास कहिल्यै थाकेन । र, क्यान्सरविरुद्ध जित हासिल गरिछाडे । आखिर यो चमत्कार भयो कसरी ? नयाँ पत्रिकाका प्रवीण देवकोटा सँग सन्तोषले अनुभव सुनाए :
सुरुमा जन्डिसजस्तो लक्षण
०५८ सालको कुरा हो । त्यतिखेर म ११ वर्षको थिएँ । ५ पास भएर भर्खर ६ कक्षामा भर्ना भएको थिएँ । एक्कासि जन्डिसको जस्तो लक्षण देखियो । शरीरमा पहेँलोपन बढ्दै गयो । थकाइ निकै लाग्थ्यो । लामो समय हिँडेपछि पेटको भित्रपट्टि नमीठोगरी दुख्थ्यो । पिँडुला बाउँडिन्थ्यो । घर–छिमेकमा निष्कर्ष निकाल्नुभयो, सन्तोषलाई जन्डिसले नै यस्तो गरेको हो । गाउँकै जडीबुटी औषधि बनाएर खुवाउन सुरु गर्नुभयो । जेठदेखि मलाई समस्या देखिन सुरु भएको थियो । साउनसम्म घरेलु उपचारको प्रयास भयो । तर, बिसको उन्नाइस भएन ।
तीन महिनापछि काठमाडौं
मलाई स्मरण भएसम्म घरबाट काठमाडौं आएको साउनको २४ गतेजस्तो लाग्छ । बुबाले कान्ति बाल अस्पताल पुर्याउनुभयो । इमर्जेन्सी वार्डमा राखेर मेरो उपचार प्रक्रिया सुरु गरियो । हेमोग्लोबिन २.५ मात्रै रहेछ । ब्लड चढाउनुभयो । बायोप्सी रिपोर्टका लागि मासुको भाग विदेश पठाइयो । बेलायत पठाइएको थियो भन्ने पछि मात्रै सुनेको थिएँ ।
क्यान्सर भएको थाहा भयो
एक हप्तापछि बायोप्सी रिपोर्ट आयो । रिपोर्टमा ब्लड क्यान्सर देखिएछ । मेरो उपचारमा लागेको कान्तिका डाक्टरहरूले यो जानकारी गराउनुभयो । ११ वर्षको भइसकेकाले म धेरैजसो कुरा बुझ्थेँ । अरूले गरेको कुरालाई चासो दिएर सुन्ने सानैदेखिको बानी पनि थियो । बुबा पनि हरेक कुरा मसँग लुकाउनुहुन्नथ्यो । काठमाडौं ल्याउनुअघि पनि मलाई साथै राखेर घरमा सल्लाह गर्नुभएको थियो । क्यान्सर भएकोबारे पनि जानकारी गराउनुभयो ।
क्यान्सरबारे थाहा थिएन
क्यान्सर रोगबारे भने मलाई त्यतिवेला थाहा थिएन । ज्यान नै लिने रोग हो भन्ने सोचेको पनि थिइनँ । यो कुरा त बुबाले पनि भन्नुभएको थिएन, आत्तिन्छ भनेर होला । शरीरमा ब्लड चढाउने काम जारी थियो । दुई पाउन्ड चढाएपछि तत्कालका लागि म तन्दुरुस्त भइसकेको थिएँ । शरीरमा तागत पलाएको अनुभव गरिरहेको थिएँ । शरीर फुर्तिलो हुँदै गएपछि त मैले रोग निको भएको अड्कल काटिरहेको थिएँ ।
उपचार छाडेर घर फर्कियौ
मेरो परिवार मध्यम वर्गको थियो । पैसाको अभाव थियो । शरीर स्फूर्त भएपछि उपचार छाडेर हामी नुवाकोट नै फर्कियौँ । उपचार गर्नुपर्छ भन्ने डाक्टरको राय थियो । तर, उपचार खर्च महागो पर्ने भएकैले अस्पताल छाड्न बाध्य भयौँ ।
डेढ महिनापछि फेरि काठमाडौं
अस्पतालबाट घर फर्किएको डेढ महिनासम्म मलाई कुनै असहज महसुस भएन । त्यसपछि भने रोगले च्याप्न थाल्यो । बुबाले फेरि कान्तिमै ल्याउनुभयो । असोज २६ गतेजस्तो लाग्छ, दसैँको नवमीको दिन थियो ।
केमोथेरापी सुरु गर्नुभयो
म निकै ग्रस्त भइसकेको थिएँ । दुई पाउन्ड रगत चढाइदिनुभयो । केमोथेरापी पनि सुरु गर्नुभयो । दुई पाउन्ड चढाएपछि एक महिनाजति रगत दिनुभएन । तर, त्यसपछि मात्रा मिलाउँदै पटक–पटक गरेर २५ पाउन्ड रगत चढाइयो । यसपछि भने रगत दिन नपर्ने भयो । तीन वर्ष उपचार गर्नुपर्ने भन्ने थियो । दुई वर्षसम्म केमोथेरापी भयो ।
औषधिले साइड इफेक्ट
केमो थेरापीका लागि भारत र चीनबाट औषधि आउने रहेछ । मलाई सुरुदेखि भारतीय प्रोडक्ट दिइएको थियो । तर, खोइ के कारण हो,एक्कासि भारतीय औषधि अभाव भएछ । अनि चिनियाँ प्रोडक्ट दिन थालियो । यो औषधि चलाउन थालेपछि साइड इफेक्ट देखियो । एकदमै टाउको दुख्ने भयो । एउटा आँखामा पनि समस्या देखिन थाल्यो । डा. रुपा राना, डा. कैलाश शाह र डा. प्रकाश तिवारीको टिमले मेरो उपचार गरिरहेको थियो । उहाँहरूकै रोहबरमा औषधि गरिएको थियो ।
ब्रेन ट्युमर पनि भएछ
साइड इफेक्ट देखिएपछि रेडियोथेरापी गर्नुपर्ने भयो । तर, यो सुविधा कान्तिमा रहेनछ । झन्डै साढे दुई वर्षजति कान्तिको उपचारपछि चिकित्सकले भक्तपुर क्यान्सर अस्पताल रिफर गर्नुभयो । नक्सालको एक क्लिनिकमा एमआरआई गराइयो । एमआरआई रिपोर्ट लिएर भक्तपुर क्यान्सर अस्पतालमा पुग्यौा । डाक्टरले रिपोर्ट हेर्नुभयो । ब्रेन ट्युमर पनि भएको बताउनुभयो ।
धेरै नबाँच्ने डाक्टरको घोषणा
भक्तपुर क्यान्सर अस्पतालमा मेरो रिपोर्ट हेर्ने डाक्टर त्यसै दिन बेलुका विदेश जाने तयारीमा हुनुहुँदो रहेछ । उहाँ हतारमा देखिनुहुन्थ्यो । उहाँबारे धेरै बुझ्ने मौका पनि मिलेन । उहाँको नामसमेत थाहा भएन । रिपोर्ट हेरेपछि उहाँले बुबालाई एक्लै राखेर भन्नुभएछ, ‘बच्चा अब धेरै दिन बाँच्दैन, २० दिन कट्न पनि मुस्किल देखिन्छ । शरीरभर क्यान्सर फैलिसकेको छ, रिपोर्टमा ब्रेन ट्युमर पनि देखिन्छ । उसको इच्छा पूरा गरिदिनू, मन लागेको खान–लाउन दिनू ।’ यो कुरा भने बुबाले मलाई त्यतिवेला भन्नुभएन । बुबाले त मलाई औषधि खाँदै गएपछि ठीक हुन्छ भनेर आश्वासन दिनुभएको थियो ।
फेरि फर्कियौ नुवाकोट
अस्पतालले भर्ना लिन मानेनछ । बुबाले घरमै गएर औषधि खाने भन्दै मलाई नुवाकोट फर्काउनुभयो । डाक्टरले दुखेको कम गर्न मोर्फिन (पेनकिलर) दिनुभएको थियो । डाक्टरले मृत्युको मिति घोषणा गरेको मलाई थाहा थिएन । बाँचुन्जेल पीडा नहोस् भनेर मोर्फिन दिएको पनि पत्तो थिएन । तर, मैले रोग निको हुने औषधि हो भन्दै नियमित मोर्फिन सेवन गरेँ ।
गल्दै गएपछि लख काटेँ
म एक्कासि थला परेँ । शौच जान पनि सक्दिनथेँ । मैले लख काट्न थालेँ, उपचार सम्भव नभएर घर फर्काइएछ । ‘बिस्तारै ठीक हुन्छ’ भन्ने बुबाको वचनमा पनि मलाई विश्वास लागेन । तर, बाँच्ने आशा मरिसकेको थिएन । त्यतिखेर दिन काट्ने साथी भनेकै रेडियो थियो । खुबै सुन्थेँ ।
रेडियोमा जब विज्ञापन सुनेँ
रेडियो पर्यावरण सुनिरहेको थिएँ । एउटा आयुर्वेदिक औषधालयबारे विज्ञापन बज्यो । ब्रेन ट्युमर, क्यान्सरलगायत रोगको उपचार गरिन्छ भन्ने खालको विज्ञापन थियो । विज्ञापनले मलाई तान्यो । औषधालयको नामभन्दा पनि फोन नम्बर टिप्नतिर केन्द्रित भएँ । काठमाडौं थापागाउँ ठेगाना र फोन नम्बर टिप्न भ्याएँ । नाम टिप्न पनि भ्याइनँ, न त सम्झिन नै ।
नयाँ औषधि सेवन सुरु
औषधालयको नाम र ठेगाना बुबालाई दिएँ । बुबा काठमाडौंमै हुनुहुन्थ्यो । अंकल र बुबा त्यहाँ पुगेर औषधि ल्याइदिनुभयो । दुई प्रकारका औषधि थिए । यार्सागुम्बा, पाँचऔँले, त्रिफला चूर्णलगायत एकथरी थिए भने । जौको जमरा, गाईको गहुँत, नीमको पातलगायत पनि थिए । यार्सागुम्बा गाईको दूध र महमा भिजाएर दिनमा एउटा खाने, पाँचऔँले घोटेर पाँच ग्रामजति दिनमा एकपटक, त्रिफला चूर्ण बिहान र बेलुका खाने गरी दिइएको थियो । मैले एक महिनासम्म नियमित खाएँ । यसले शरीरमा शक्ति दियो । त्यसपछि यो खान छाडेँ ।
जौको जमरा, गहुँत, नीमपत्ता र तुलसीको पात भने लामो समयसम्म खाएँ । छरेको सातौा दिनको जौको जमराको जुस, गाईको गहुँत, तीनवटा नीमपत्ता र सातवटा तुलसीको पत्ता मिलाएर बनाएको एक–एक गिलास जुस बिहान र बेलुका नियमित सेवन गरेँ । यो औषधि सुरुमा नपच्ने रहेछ । दिसा लागिरहने हुने रहेछ ।
तर, आत्तिनुपर्ने रहेनछ । पछि, खाँदै गएपछि आफौ ठीक हुने रहेछ । ६ महिनासम्म यो औषधिले पनि समस्यालाई बिसको उन्नाइस बनाएन । ६ महिनापछि मात्रै बिस्तारै प्रभाव देखाउन थाल्यो । यो औषधिको काम नै यस्तै रहेछ । ६ महिनापछि रोग ठीक हुँदै गएको अनुभव गर्न थालेँ । औषधि सेवन गरेको एक वर्षपछि हल्काफुल्का हिँड्न सक्ने भएँ । शरीरमा तागत आएपछि फेरि ६ कक्षामै भर्ना भएर पढाइलाई निरन्तरता दिएँ ।
ब्लडमा क्यान्सर देखिएन
बिरामीले थलिएको ४ वर्ष भइसकेको थियो । म १६ वर्षको भइसकेको थिएँ । धेरै नै आराम महसुस भएपछि फेरि कान्ति बाल अस्पताल आयौँ । यसअघि उपचार असम्भव रहेको निष्कर्ष निकालेर पठाइएको मलाई तन्दुरुस्त भएरु अस्पताल आएको देख्दा डाक्टरहरू छक्क पर्नुभयो । उहाँहरूको बुझाइमा त म त्यो वेलासम्म मरिसकेको हुनुपथ्र्यो । अस्पतालमा फेरि एकपटक ब्लड टेस्ट गर्न सल्लाह दिनुभयो । ब्लड टेस्ट गरायौँ । रिपोर्ट नर्मल आयो । डाक्टरहरूले रोग निको कसरी भयो भन्नेबारे चासो राख्नुभयो । मैले घटनाक्रम बताइदिएँ ।
अहिले कुनै समस्या छैन
गाईको गहुँत, जौको जमरा, नीमपत्ता र तुलसीको पात मिश्रण गरिएको औषधि ३ वर्षजति नियमित खाएँ । अहिले पनि कहिलेकाहीँ खाने गर्छु, तर नियमित होइन । कुनै रोग नभए पनि यो औषधि खाँदा फाइदै गर्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...