-->
भारतद्वारा 'एकतर्फी' भन्सार सारिँदै
Advertisement

वीरगन्ज— भारतले वीरगन्ज–रक्सोल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किमी टाढा सार्ने अन्तिम तयारी गरेको छ। शुक्रबारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाली पक्षले भन्सार पार गराउन १३ किमी पर जानुपर्नेछ।
यसले भन्सार प्रक्रियामा नेपाली पक्षलाई समस्या र झन्झट बढाउने उद्योगीले बताएका छन् ।
वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको सीमापारिको भारतीय भन्सार कार्यालय यहााँबट पश्चिम अलौंमा रहेको आइसिपीको भारततर्फको प्रागंणमा सार्न लागिएको हो । त्यहाँ पुग्न रक्सोलदेखि दक्षिण गम्हरियानजिकको हर्दियाबाट राजमार्ग निस्किने बाइपास सडक भएर जानुपर्ने हुन्छ ।
नेपाल–भारत सीमास्थित वीरगन्जको अलौंमा बन्दै गरेको एकीकृत जाँचचौकी (आइसिपी) को भारततर्फको निर्माण सम्पन्न भए पनि नेपालतर्फ भने निर्माण अधुरै छ । भारतले एकतर्फी रुपमा आइसिपी सञ्चालन गर्ने भएपछि समस्याले थपिने भन्दै आयातकर्ता चिन्तित छन् । सीमावारि र पारि छाया संरचना भएको आइसिपी एकसाथ दुई देशबीचको सुविधासम्पन्न आधुनिक भन्सार सञ्चालन अवधारणा हो । यसको एउटा पाटो मात्र भारत पक्षले सञ्चालनमा ल्याउँदा यो नाका भएर हुने व्यापारमा अनेक समस्या आउन सक्ने व्यापारीको चिन्ता छ ।
'सबै प्रक्रिया समस्याग्रस्त हुनेछन् । रक्सोलमा बन्द रहने रेलवे ढाला (ब्यारियर) को मार उसै पनि आयातकर्ताले सहँदै आएका छन्, अब थप समस्या हुनेछ,' वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले नागरिकसँग भने, 'दुवैतर्फ संरचना सञ्चालनयोग्य नभएसम्म करिब ५÷६ महिना यसलाई स्थगन गरेर एकसाथ सुरु होस् भनेर पहल थालेका छौं ।'
संघले बुधबार वाणिज्य मन्त्रालयमा यसलाई रोक्न पत्र पठाएको छ । 'भारतले आफ्नातर्फको जाँचचौकी ३ तारेख अर्थात् जेठ २१ देखि सञ्चालनमा ल्याउन लागेको तर नेपालतर्फको निर्माणकार्य सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले नेपालतर्फको निर्माण कार्य सम्पन्न नहँुदै भारतले सञ्चालनमा ल्याउँदा नेपाली आयातकर्तालाई धेरै नै मर्का पर्ने देखिन्छ,' पत्रमा उल्लेख छ ।
नेपालतर्फको निर्माण जिम्मा पाएको 'के एस सफ्टनेट सोलुसन' संयुक्तका महाप्रबन्धक एससी दासका अनुसार नेपालतर्फको योजनाको भौतिक संरचना ६९ प्रतिशत तयार भइसकेको छ । असोजसम्म निर्माण पूरा गरिसक्ने गरी काम भइरहेको उनले बताए ।
भारतीय महावाणिज्य दूतावासका काउन्सिलर राजेश कुमारले भने यसलाई उद्घाटन नभनेर प्रयोगमा मात्र ल्याउन खोजिएको बताए । भारतको 'ल्यान्ड पोर्ट अथोरिटी' का एक अधिकारीले आइसिपीलाई अभ्यासमा ल्याउन र नाकामा देखिने सिथिलता हटाउन यसरी सञ्चालन गर्न लागिएको बताए । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेलले लयमा फर्किन लागेको वीरगन्ज भन्सार नाका भारततर्फ आइसिपीमार्फत काम गर्नुपरे फेरि बिथोलिने चिन्ता जनाए ।
वीरगन्ज नाका भएर बाहिरबाट आउने सामानका हकमा रक्सोल नपुग्दै बाइपास भएर आइसिपी जान सक्छन् । रेलबाट रक्सोल रेलवे स्टेसनमा आइपुग्ने खुला बग्गीका कार्गो र इन्डियन आयल कर्पोरेसनबाट आउने इन्धनलाई उल्टै लगेर ओहोरदोहोर गराउनुपर्दा समय र लागत बढ्ने आयातकर्ता तथा उद्योगीको चिन्ता छ । यी दुई थरी सामान रक्सोलबाटै नेपालका लागि छुट्दै आएका छन् ।
वीरगन्ज–पथलैया करिडोरमा रहेका दर्जनभर सिमेन्ट उद्योगका सबैजसो कच्चा पदार्थ र आधा दर्जनभन्दा बढी फलामे डन्डी उद्योगका अधिकांश कच्चा पदार्थ रक्सोल रेलवे स्टेसन भएर ल्याइन्छ । यसका लागि दैनिक सयभन्दा बढी ट्रकले ढुवानी गर्नुपर्ने हुन्छ । त्यस्तै १ सय २० देखि १ सय ४० सम्म ट्यांकरमा आउने इन्धन ओसारपसार हुन्छ ।
केडियाका अनुसार कच्चा पदार्थ र इन्धन गरी अढाई सय ट्रक÷ट्यांकर दैनिक रक्सोलबाट आइसिपी लैजान र ल्याउन दुई दुई पटक रेलवे ब्यारियर गराउँदाको समस्या नेपाली पक्षका लागि चिन्तनीय छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.