-->
अस्तव्यस्त राजधानी
Advertisement

असार ११, २०७३- राजधानी देशको मुटु मानिन्छ । यही मुटु देशकै प्रदूषित र अस्तव्यस्त सहरका रुपमा चिनिएको छ । केही वर्ष पहिलासम्म दक्षिण एसियाकै राम्रो सहरमध्येमा गनिन्थ्यो राजधानी । तर, अहिले विश्वकै प्रदूषित सहरको परिचय पाएको छ । गत वर्ष सार्क सम्मेलनलाई ध्यान दिएर राजधानीले काँचुली फेरेको थियो । सम्मेलन सकिएको वर्षदिनमै फेरि विरुप देखिएको छ । सडकमा फोहोरका थुप्रा छन् । बिजुलीको तार छरपस्ट झन् । सवारी जाम बढेको छ । किन यस्तो भयो ? दामोदर न्यौपाने, लीला श्रेष्ठ र प्रशान्त माली लेख्छन् :
ठूलो पानी पर्नासाथ तीनकुने सडक आहाल बन्छ । आहाल बनेको ठाउँबाट जिरीको बस हुइँकेर आयो । मोटरसाइकलमा चढ्ने सबैलाई भिजाउँदै अघि बढ्यो । अलि पर पुगेर गाडीलाई मोटरसाइकलले घेरे । प्रहरी आयो । बानेश्वर वृत्तका प्रहरीले गाडीसहित चालकलाई चौकी लगे । मोटरसाइकल चढ्नेहरू निथु्रक्क भिजेरै आफ्नो बाटो लागे ।
बर्खा लागेपछि उपत्यकाका अधिकांश सडकको अवस्था यस्तै हुन्छ । पानी पर्नासाथ सडक तलाउमा परिणत हुन्छन् । ‘महानगर कुरूप भयो,’ ठमेलका विश्वम्भरलाल प्रधानाङग भन्छन्, ‘कतै ढल छैन । कतै पानी छैन । कतै पिच गरेको बाटो भत्काइएको छ ।’
पोहोर मंसिरमा सार्क सम्मेलन हुँदा राजधानीको स्वरूपै फेरिएको थियो । सडकको दायाँ–बायाँका भित्ता रङ्ग्याइएका थिए । कतै पोस्टर पम्पलेट थिएन । बिरुवा रोपिएका थिए । सडकमा बत्तीले झकिझकाउ पारिएको थियो । सडक पानीले पखालिएका हुन्थे । रातारात परिवर्तन देखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाई भनेका थिए, ‘राजधानी अर्कै बनाउनु भएछ ।’ उनी सार्क सम्मेलन हुनुभन्दा ५ महिनाअघि पनि काठमाडौं आएका थिए ।
अहिले राजधानी फेरिएको छ । ठाउँ–ठाउँका बिरुवा भाँचिएका छन् । भित्तामा लेखिएका छन् । पोस्टर, पम्पलेट टाँसिएका छन् । टेलिफोन, केबल टेलिभिजनका तार झोलिएका छन् । सडकमै निर्माण सामग्री राखिएका हुन्छन् । महानगरका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले लथालिंग तार हटाउने बताए ।
‘एक महिनाभित्र कम्तीमा सार्क सम्मेलनका बेलाजस्तो परिवर्तन देखियोस्,’ महानगरले आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री, तथा संघीय मामिलामन्त्री कमल थापाले भने, ‘यो मेरो आदेश हो ।’ भित्ते लेखनलाई पनि निरुत्साहित गर्न थापाले आदेश दिए । ‘लेख्न निषेध गर्नुपर्छ,’ उनले भने, ‘नटेर्नेलाई जरिवाना गर्न सक्नुपर्छ ।’
मुख्य सडक धुलाम्य छन् । घाम लाग्नासाथ कोटेश्वर सडक कुहिरीमन्डल हुन्छ । सार्क सम्मेलन हुनेबेला पानी हाल्ने गरिएको थियो । अचेल पानी हालिँदैन । होडिङ बोर्डले पनि राजधानी कुरूप बनाएको छ । मापदण्डअनुसार ठूलो होडिङ बोर्ड राख्न पाइँदैन । महानगरको नियमअनुसार ३ फिट चौडाइ र १० फिट लम्बाइको होडिङ बोर्ड मात्रै राख्न पाइन्छ । यो मापदण्ड उल्लंघन भएका छन् ।
महानगरको बजेटको झन्डै ७५ प्रतिशत खर्च सडकमै हुन्छ । तर, सबैभन्दा बिजोग सकडकै छ । ठाउँ–ठाउँका ढल फुटेका छन् । कालोपत्रे उप्किएका छन् । महानगरका निर्देशक उत्तमकुमार रेग्मीका अनुसार कुल बजेटको १५ प्रतिशत पुराना ढल मर्मतमा खर्च हुन्छ । बाँकी १० प्रतिशत मात्रै अन्य काममा खर्च हुन्छ । । रेग्मीका अनुसार बर्खाको पानी बग्ने गरी ढल बनेको छैन । ‘यहाँका ढल साँघुरा छन्,’ उनले भने, ‘त्यसैले ढलबाट ओभर फ्लो हुन्छ ।’
ढल तत्काल मर्मत गर्न कानुन बाधक भएको उनले बताए । सार्वजनिक खरिद ऐनले डेढ लाखभन्दा माथिको काम गर्न बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले काम गर्न अफ्ठयारो भएको उनले बताए । ‘तत्काल ढल बनाउनुपर्ने हुन्छ । डेढ लाखमा कहाँ ढल बन्छ ?’ उनले भने । मेलम्चीको पानी वितरण गर्न पाइप बिछयाइँदै छ । तर, ढलको व्यवस्था गरिएको छैन । ‘एकै अफिसमा ढल र मेलम्चीको अफिस छ,’ पूर्ववडाअध्यक्ष समेत रहेका प्रधानाङगले भने, ‘पहिला ढल राखेर पाइप व्यवस्था गर्नुपर्ने हो । हामीले भनेकै छौं । कसैले सुन्दैनन् ।’
राजधानी कस्तो बनाउने भनेर कुनै योजना नभएकाले यस्तो अवस्था आएको प्रधानाङग बताउँछन् । सडक बनाएको भोलिपल्ट पानीका लागि भत्काउने काम हुन्छ । ‘ठूला घर बनेका छन् । होटल बनेका छन् । अहिले कत्रो घर बनाउने ? जनसंख्या कति हुने ? खानेपानीको आपूर्ति कसरी हुने भनेर बहसै भएन,’ उनी भन्छन् ।’ प्रधानाङ्गका अनुसार वाग्मतीमा माछा दौडन्थे । विष्णुमती, मनोहरा पनि उस्तै थिए । अहिले यी नदी ढलमा परिणत भएका छन् । वाग्मती सभ्यता बचाइराख्न नदी नाला सफा पार्नुपर्छ । यसका लागि जनतालाई सचेत पार्ने काम महानगरले गर्नुपर्छ ।
पोलमा तारका गुजुल्टा, सडकमा व्यापार
भक्तपुरमा ठूला होडिङ बोर्ड, सडक मिचिने गरी राखिएका सवारीसाधन, अनावश्यक झुन्डयाइएका तार र जथाभावी थुपारिएका फोहोरले नगर कुरूप बनेको छ । सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डको दायाँबायाँ, नगरको मुख्यमुख्य चोकमा होडिङ बोर्ड राखिएका छन् । भक्तपुर र मध्यपुरथिमी नगरपालिकाका मुख्य स्थानमा पनि होडिङ बोर्डले ढाकिएको छ । अन्य नयाँ नगरपालिकाको अवस्था पनि उस्तै छ । सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्ड अन्र्तगत सर्भिस ट्रयाक मिचेर व्यापारीहरूले व्यापार गर्ने थलो बनाएका छन् । बिजुलीको पोलमा बिजुली, केबल टीभी, इन्टरनेट, दूरसञ्चारलगायतको तार यत्रतत्र झुन्डिएका छन् ।
विद्युत् प्राधिकरणले भने बिजुलीको पोलमा अनावश्यक तारको मुठा थुपार्ने प्राधिकरण नभएर केबल टीभी, इन्टरनेट र दूरसञ्चार भएको बताउँछ । ‘प्राधिकरणले अनावश्यक तार थुपार्दैन,’ विद्युत् प्राधिकरण भक्तपुर शाखा प्रमुख विक्रम अमात्यले भने, ‘बिजुलीको पोलमा झुन्डयाइएका तार हटाउन पटक–पटक पत्र पठाइसक्यौं, सुनुवाइ भएको छैन ।’
‘यस्तै नगरमा अस्तव्यस्त पार्किङले पनि समस्या भएको छ,’ मध्यपुरथिमीका राजेश श्रेष्ठले भने, ‘व्यापारीले सडकको दुरुपयोग गर्दा पदैल यात्रु र भित्री सडक प्रयोगकर्ताले सास्ती खेप्नुपरेको छ ।’ पाकिङको व्यवस्थापन प्रहरीले गर्दै आएको र व्यापारिक थलोलाई हटाउने कार्य भने प्रहरीको नभएको महानगरीय प्रहरी वृत्त जगातीका डीएसपी मित्रबन्धु शर्माले बताए । भक्तपुर नगरपालिकाले फोहोरको व्यवस्थापन गर्दै आए पनि नयाँ नगरपालिकाको साँधमा फोहोर थुप्रिएका कारण समस्या आएको भक्तपुर नगरपालिकाका स्यानिटेसन शाखा प्रमुख दिलीपकुमार सुवालले बताए ।
दुर्गन्धले टाउको दुख्छ
ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेल बसपार्कमा थुप्रिएको फोहोर कुहिएर वरपर दुर्गन्ध फैलिएको छ । घुम्न आउने आन्तरिक तथा बाहय पर्यटक नाक थुनेर हिँड्छन् ।
लगनखेल–चापागाउँ रूटका बसचालक भारदेउका राम तामाङ भन्छन्, ‘दिनभर दुर्गन्धमा बस्नुपर्दा बेलुका टाउको दुख्ने गरेको छ ।’ उनका अनुसार बसपार्क सरसफाइ गरेबापत लगनखेलमा सरसफाइ गर्नेले प्रत्येक बस चालकसँग सातामा ४० रुपैयाँ लिन्छन् । बसपार्कको चारैतिर होडिङ बोर्ड, पम्पलेट, भित्तेलेखन र छरपस्ट रहेका टेलिफोन र केवल लाइनका तारले भरिएका छन् । जसले सहरलाई कुरूप बनाएको छ । मंगलबजार, पुल्चोक, कुमारीपाटी, जावलाखेल, कुपन्डोल, पाटनढोका, सातदोबाटोलगायत सहरी क्षेत्रको अवस्था पनि उस्तै छ । सातदोबाटो, ग्वार्को, बालकुमारी, एकान्तकुना क्षेत्रमा अत्यधिक धुवाँ, धुलो उड्छ । नगरको ढल निकास मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा आउँछ । कुमारीपाटी, जावलाखेललगायत क्षेत्रबाट बग्ने निकास भने महापाल र गा:बहाल टोलमा आउँछ ।
यसले दरबार क्षेत्र आउने पर्यटक दुर्गन्ध सहन बाध्य छन् ।
फोहोरको दुर्गन्ध र धुवाँ, धुलोको कारण श्वासप्रश्वाससम्बन्धी रोग फैलिरहेको चिकिसत्कहरू बताउँछन् । दैनिक १५ सय उपचारका लागि आउने पाटन अस्पातालमा मात्रै २० देखि ३० प्रतिशत बिरामी श्वासप्रश्वासका छन् । अस्पातलका वरिष्ठ फिजिरियन डा. युवराज शर्माले प्राय: जाडोमा देखिने रोग धुवाँ, धुलोले गर्मीमा पनि देखिन थालेको बताए । होडिङ बोर्ड व्यवस्थापन गर्ने योजना रहेको उपनपा नगर प्रहरीका कदमलाल महर्जन बताउँछन् । तर, हालसम्म कसैलाई कारबाही गरिएको छैन । वातावरण विभाग महाशाखा प्रमुख शंकर पौडेलले इँटा भट्टाबाट निस्कने धुवाँ, धुलोलाई नियन्त्रण गर्न पनि छुट्टै नीति बनाउने तयारीमा रहेको बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.