Advertisement
|
असार ११, २०७३- उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा स्वागत सत्कार नगरेको भन्दै स्थानीय विकास अधिकारीको सरुवा गरिएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको उनको सरुवाले जिल्लाको विकास निर्माण प्रभावित हुने भएको छ ।
असार ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए । उनी आउँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्तालाई होटलबास तथा मदिरापानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्लेमार्फत स्थानीय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टाभित्र सरुवा गरिदिने धम्की दिएका थिए ।
सदरमुकाममा रहेको होटल केपी प्लाजामा बोलाएर थुप्रै नेता कार्यकर्ताको अगाडि आफूलाई दुव्र्यवहार गर्न थालेपछि सत्याल त्यहाँबाट केही नबोली फर्केको जिविसका एक कर्मचारीले बताए ।
उपप्रधान मन्त्रीले जिविसको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकाले सचिवलाई उनको सरुवाको निर्देशन दिएको वाग्लेले बताए । कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उनको भनाइ छ ।
एलडियोलाई कुनै धम्की र दुव्र्यवहार नगरेको भन्दै उनले भने, ‘कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्न दिने उपप्रधान मन्त्री ज्यूको निर्देशन छ । हामीले धम्की दिने कुरै हँुदैन’ आफूहरूको स्वागत बझाङका जनताले गरेकाले कर्मचारीबाट स्वागतको अपेक्षा मन्त्रीले नगरेको उनले बताए ।
काठमाडौंबाट मन्त्रीको साथमा आएकाहरूका लागि आफूले सबै खाले व्यवस्था गरेको भए पनि मन्त्रीले भने जति कार्यकर्ताको व्यवस्थापन गर्न नसकेकोमा मन्त्री आफूसँग रुष्ट भएको र आफ्नो सरुवा गराएको हुन सक्ने स्थानीय विकास अधिकारी सत्यालको भनाइ छ ।
एलडीओलाई बिहीबार २४ घण्टा भित्र मन्त्रालयमा हाजिर हुने आदेश प्राप्त भएपछि उनी बरबुझारथ गरी काठमाडौं हिँड्ने तयारीमा जुटेको जिविसस्रोतले जनाएको छ । यता स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले भने सत्याललाई नियमित कामको सिलसिलामा मन्त्रालयमा बोलाइएको बताए । आर्थिक वर्ष समाप्त हुनै लागेका बेला उनलाई बोलाउनुको कारणबारे जान्न खोज्दा जवाफ दिनबाट उनी पन्छिए ।
एकाएक स्थानीय विकास अधिकारीको सरुवाको खबर आएपछि जिविसका कर्मचारीमा अन्योल सिर्जना भएको छ । आर्थिक वर्ष समाप्त हुनै लागेका बेला आफूहरूले काम गर्नका लागि बनाएको योजना नै चौपट भएको उनीहरूको भनाइ छ । कर्मचारीका अनुसार सत्यालको सरुवाले जिल्लाको विकासका थुप्रै काम प्रभावित हुने देखिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...