Advertisement
|
असार १४, २०७३- थाइल्यान्डको बैंककमा बसेर अस्ट्रेलिया र हल्यान्डमा लागूऔषध तस्करीमा सक्रिय धर्म पाख्रिन समूहका २ सदस्य चरेससहित नेपालमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार ३५ किलो चरेससहित कपनबाट साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ गरेको हो । बरामद चरेसको अवैध बजारको मूल्य १० लाख बराबर रहेको ब्युरो अधिकारीले जानकारी दिए ।
ब्युरोले सोमबार यी दुवैलाई सार्वजनिक गरेको थियो । धर्मको सहयोगी पक्राउसँगै एमफेटामाइनको तस्करीमा कहलिएका उनी पछिल्लो समय नेपालमा बनेको चरेस युरोपियन लागूऔषध बजारमा पुर्याउनसमेत सक्रिय रहेको खुलेको छ । ब्युरो प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार धर्म अस्ट्रेलिया, फिलिपिन्स र बर्मामा लागूऔषध तस्करीमा कहलिएका अन्तर्राष्ट्रिय कारोबारी हुन् । १७ वर्षदेखि थाइल्यान्डमा रहेका उनको सक्रियताबारे प्रहरीले वैशाखमा मात्रै चाल पाएको हो ।
वैशाख १ मा थाइल्यान्डबाट नेपाल आएका नेत्र गुरुङ र चित्र तामाङ एमफेटामाइनसहित पक्राउ परेपछि धर्मले नेपालमा रहेका सहयोगीमार्फत यहाँका युवालाई बैंकक बोलाएर लागूऔषध भरियाका रूपमा प्रयोग गर्ने गरेको खुलेको थियो । धर्मको मुख्य सहयोगीको आरोपमा उनका भाइ पूर्णबहादुर वैशाख २१ मा पक्राउ परिसकेका छन् भने धर्म अस्ट्रेलियन र नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् ।
‘यस अगाडिका अनुसन्धानमा पाख्रिन एमफेटामाइनको कारोबारमा संलग्न देखिएका थिए,’ ब्युरोका डीआईजी चन्दले भने, ‘साइमन र धनबहादुरको पक्राउपछि उनी चरेस कारोबारमा समेत संलग्न रहेको खुल्यो ।’ अस्ट्रेलियामा घर सजाउने सामानको आवरणमा चीन हुँदै पुगेको ५४ किलो एमफेटामाइनको कारोबारमा संलग्न समूहको खोजीका क्रममा पाख्रिन समूहको नेपालमा हुने गरेको चलखेल खुलेको थियो ।
जनवरीमा अस्ट्रेलियाको ब्रिसबनमा घर सजावट सामग्रीको बाकसमा २७ करोड रुपैयाँ बराबरको ५४ किलो एमफेटामाइन फेला परेको थियो । अस्ट्रेलियन प्रहरीले सो सामग्री लिन आएका अस्ट्रेलियन नागरिक रेमन्ड जोन र नेपाली नागरिक भूपेन्द्र तामाङको पक्राउसँगै नेपालको लागूऔषध ब्युरोलाई जानकारी दिएको थियो ।
उताको जानकारीको आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले नेपालमा मनीष श्रेष्ठ, विक्रम लामिछाने र होमबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेकै बेला नेत्र र चित्र ३ सय २ ग्राम एमफेटामाइनसहित पक्राउ परेपछि धर्मको जालोबारे खुलेको थियो । यी दुवैबाट खुलेको जानकारीको आधारमा ५० लाख रुपैयाँ बोकेर प्रहरीमा भएको केस मिलाउन हिँडेका धर्मका भाइ ४९ लाख रुपैयाँसहित पक्राउ परे । विक्रम सम्वतको नयाँ वर्षमै नेपाल भित्रिएको एमफेटामाइन नेपाली बजार लक्षित रहेको अनुसन्धानमा खुलेको थियो ।
धादिङको दार्खा, सत्यदेवी, तिप्लिङ, झार्लाङका करिब ५८ नेपाली नागरिक लागूऔषध कारोबारीको अभियोगमा थाइल्यान्ड कारागारमा छन् । ती धर्म समूहका सदस्य रहेको प्रारम्भिक जानकारी आएको ब्युरोका एक अधिकारीले जानकारी दिए । ‘प्रारम्भमा धर्म नेपाली युवालाई थाइल्यान्ड बोलाएर लागूऔषधको भरिया बनाउन सक्रिय थिए,’ डीआईजी चन्दले भने, ‘अहिले नयाँ बजारको खोजीमा उनी नेपालमा समेत लागूऔषध पठाउन सक्रिय हुने प्रयासमा रहेको देखिन्छ ।’
साइमन–धनबहादुर चरेस एजेन्ट
धादिङमा बनेको चरेस धार्मिक पुस्तकभित्र राखेर स्थलमार्ग हुँदै दिल्ली पुर्याई त्यहाँबाट हल्यान्ड पठाउने समूहबारे सूचना पाएको ब्युरोको टोलीले आइतबार कपनको एक घरमा छापा मारेर ३५ किलो चरेससँगै बारा र धादिङका तामाङद्वयलाई पक्राउ गरेको थियो । फेला परेका चरेसमध्ये ३० किलो इँट्टा आकारका चरेस झोलामा र ५ किलो बुद्ध धर्मसम्बन्धी पुस्तकभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।
ब्युरोको हिरासतमा रहेका यी दुवैको लागूऔषध तस्करीमा संलग्नता खोतल्दा साइमन धर्म समूहको भरिया रहेको र उनी पछिल्लो समय नेपालको चरेस स्थलमार्गबाट भारत पठाएर त्यहाँबाट धर्मको निर्देशनअनुसार हल्यान्ड पठाउन सक्रिय देखिएको अनुसन्धानमा संलग्न ब्युरो अधिकारीले जानकारी दिए ।
ब्युरोका एसएसपी गणेश केसीका अनुसार अनुसन्धानमा साइमन धर्मका भाइ पूर्णसँग ३ वर्ष अगाडि थाइल्यान्ड गएका थिए । प्रारम्भिक बयानमा खुलेअनुसार उनी धर्मको निर्देशनअनुसार बैंककभित्रै एमफेटामाइन एक सहरबाट अर्को सहरमा ओसारपसार गर्थे ।
‘साइमनले एक पटक लागूऔषध ओसार्दा १५ हजारसम्म थाई भाट पाउँथे,’ प्रारम्भिक अनुसन्धानबारे जानकारी दिँदै एसएसपी केसीले भने, ‘अनुसन्धानमा उनले १९ पटक लागूऔषध ओसारपसार गरिसकेको खुलेको छ ।’ ब्युरो अधिकारीका अनुसार धर्मले उनलाई चरेस पठाउन नेपाल पठाएपछि यस अगाडि ५ किलो चरेस काँकडभिट्टाको नाका हुँदै सिलिगुडी पुर्याएका थिए ।
कतार र इराकमा सुरक्षाकर्मीका रूपमा काम गरेर सन् २०११ मा नेपाल फर्किएर कुखुरा पालनमा लागेका धनबहादुर त्यही समयदेखि चरेसको कारोबारमा समेत जोडिएको ब्युरो अधिकारीको दाबी छ ।
नुवाकोटमा बसेर उनले हल्यान्डमा २ पटक र हङकङमा ३ पटक चरेस पठाएको खुलेको डीआईजी चन्दले जानकारी दिए । चन्दका अनुसार चरेस लुकाउन उनी आफैंले भारतबाट बुद्धको प्रार्थनासम्बन्धी किताब ल्याउँथे र धादिङका एक व्यक्तिलाई दिन्थे ।
ती ब्यक्तिले किताबभित्र चरेस लुकाएर प्याक गरिएको किताब पुन: धनबहादुरलाई फर्काउँथे । धनबहादुर चरेस राखिएको पुस्तक लिएर आफैं दिल्ली पुगेर चरेसका अर्का एजेन्टलाई दिएर फर्कने गरेको अनुसन्धानमा संलग्न ब्युरोका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार धनबहादुरको कोकिन तस्करीमा सक्रिय पाकिस्तानी नागरिकसँग समेत सम्बन्ध देखिएको छ ।
ब्युरोले जेठ १२ मा अप्रेसन फिसअन्तर्गत २ किलो ६ सय ग्राम कोकिनसहित भेनेजुयलीन यमरिस कारमिन, नाइजेरियन मोहम्मद ल्यामिनी डोबा, नेपाली दिलबहादुर गुरुङ र भारतीय तोहिद खानलाई पक्राउ गरेको थियो । सो समूहको सञ्जाल खोतल्दा ब्युरोले हङकङ बस्ने पाकिस्तानी नागरिक वाहिद खान, अब्दुल रज्जाक लगायतको संलग्नता खुलाएको थियो । धनबहादुरले हङकङमा रहेका साहिद खानलाई चरेस पठाउने गरेको खुलाएपछि उनले सम्पर्कका लागि प्रयोग गर्ने मोबाइल नम्बरका आधारमा यस अगाडि खुलेका वाहिद र उनले भनेका साहिद एकै व्यक्ति रहेको खुलेको डीएसपी शाहीले जानकारी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...