-->
अमेरिका–अस्ट्रेलिया भन्दै माइक्रोनेसिया, पक्राउ परेका १६ मध्ये ७ काे उद्धार
Advertisement

असार १४, २०७३- भारत, खाडी र अफ्रिकी देश हुँदै नेपालीहरुलाई अमेरिका, अस्ट्रेलिया तथा युरोपेली मुलुक लैजान कठीन हुन थालेपछि मानव तस्करहरुले त्यसतर्फ लैजान नयाँ रुट बनाएका छन् । मानव तस्करमा सक्रिय गिरोहले मलेसिया, इण्डोनेसिया हुँदै अष्ट्रेलियाको उत्तरतर्फ पर्ने ‘सोभर्जिन टापू’ अन्तर्गतको मुलुक ‘फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसिया’ पुर्याइएका १६ जना नेपालीहरु त्यहाँ पक्राउ परेपछि यस्तो खुलासा भएको हो ।
तस्करहरुले अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुक पुर्याउने लोभमा नेपालबाट उनीहरुलाई जनही ६ देखि ८ लाख रुपैयाँ असुलेर पर्यटक भिसामा थाईल्याण्ड, मलेसिया हुँदै इण्डोनेसिया पुर्याएको र त्यहाँबाट पानीजहाज र डुंगामार्फत माइक्रोनेसियासम्म पुर्याएको खुलेको हो ।
मानव तस्कर समूहले उनीहरुलाई त्यहाँ पुर्याएपछि फरार भएको पाइएको छ । यस्तो कार्यमा इण्डोनेसियाली र नेपालीहरु संलग्न रहेको दखिएको क्वालालम्पुरस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरलाई जानकारी दिए ।
पीडित नेपालीमध्ये ७ जनालाई उद्धार गरी गत साता फर्काइएको नेपाली दूतावासका द्वितिय सचिव उत्तमकुमार शाहीले जानकारी दिए । उनका अनुसार नेपालीहरु त्यहाँ नोभेम्बर २०१४ मा नै पक्राउ परेका भएपनि यसबारे यही मार्च महिनामा मात्र दूतावासले जानकारी पाएको थियो ।
पक्राउ परेका नेपालीबारे माइक्रोनेसियाका सरकारी अधिकारीको सूचनापछि द्वितिय सचिव शाही र माइक्रोनेसियाका सरकारी अधिकारीबीच फिलीपिन्सको मनिलामा केही साताअघि यसबारे छलफल भएको थियो । त्यसपछि माइक्रोनेसियाको सरकारी निकाय र त्यहाँस्थित आइओएम (इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन) का प्रतिनिधिसँगको समन्वयमा ७ जनाको उद्धार गरि फर्काइएको उनले बताए ।
उद्धार गरिएकाहरुमा पाल्पा घर भएका बसन्तबहादुर दर्लामी, चितवनका प्रविन लामा, स्याम्लुंग तामांग, जयराम वाइबा, मकवानपुरका सोमबहादुर लामा थिंंग, इलामका सञ्जिव राई र धनुषाका अमितकुमार साह रहेका छन् ।
दूतावासका अनुसार ती नेपालीहरुलाई त्यहाँको प्रशासनले पक्राउ गरी घर फिर्ती केन्द्रमा राखेको थियो । पक्राउ परेको करिब डेढ वर्षपछि नेपाल सरकारलाई जानकारी प्राप्त भएको थियो ।
‘घटनाबारे जानकारी पाएपछि हामी फिलीपिन्सको मनिलामा पुग्यांैं । माइक्रोनेसियाबाट पनि सरकारी अधिकारी त्यहाँ आए । त्यसपछि ७ जनाको उद्धार सम्भव भयो,’ शाहीले भने, ‘१६ जनामध्ये बाँकी चाँही त्यहीँ शरणार्थीका लागि आवेदन दिएको र घर फिर्न अनिच्छुक रहेको पाइयो । उनीहरु आइओएम र युएनएचसिआरको संरक्षणमा छन् ।’
समुद्री टापुहरु मिलेर बनेको उक्त मुलुकलाई मानव तस्कर गिरोहले नयाँ ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा प्रयोग गरेको पाइएको भने यो पहिलोपटक हो । पपुवा न्यु गिनीको उत्तर पूर्वी क्षेत्रमा पर्ने यो मुलुकमा करिब १ लाख ६ हजार जनसंख्या रहेको छ । त्यहाँको सरकारी कामकाजी र बोलीचालीको भाषा ‘अंग्रेजी’ रहेकाले पनि गिरोहहरुले अमेरिका भन्दै झुक्याएर त्यहाँ पुर्याउने गरेको अनुमान दूतावासको छ ।
यसअघि मानव तस्करीमा सक्रिय गिरोहले अष्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकहरुमा लैजाने भन्दै मलेसिया, थाइल्याण्ड र इण्डोनेसियालाई ‘ट्रन्जिट पोइन्ट’ बनाउने गरेका थिए । यी मुलुकबाट सीमा पार गर्न/गराउन कडाई हुन थालेपछि गिरोहहरुले नयाा बाटो अप्नाएको हुनसक्ने ठहर दूतावासका अधिकारीहरुको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.