-->
योग र सौन्दर्य:-(‘अनुहार टल्काउन सौन्दर्य प्रसाधनको प्रयोग नगरी योगको उपयोग गरौं । अनुहारमा बाहिरबाट पोत्ने कृत्रिम वस्तु अस्थायी हुन्छ भने योगका माध्यमले आएको सुन्दरता स्थायी ।’-आचार्य बालकृष्ण)
Advertisement

असार ११, २०७३- सुन्दरता महिलाको मात्रै विषय हो भन्ने मान्यतामा केही वर्षयता व्यापक परिवर्तन आएको छ । अचेल के महिला के पुरुष, सबैलाई उत्तिकै राम्रिनुपरेको छ, भीडमा छुट्टै देखिनुपरेको छ, आकर्षक हुनुपरेको छ ।
र, यसका लागि सबैजसोले अवलम्बन गर्ने उपाय भनेको सौन्दर्य प्रसाधन नै हो । कृत्रिम कस्मेटिकहरूले तपाईंलाई आकर्षक त देखाउँछन्, तर यसरी पाइएको सुन्दरता क्षणिक हुने गर्छ । मुख धुन बेर न त्यो आकर्षण पखालिन बेर ।
त्यसैले दिगो सौन्दर्यको एक मात्र उत्तम उपाय भनेको योग नै हो । विशेषज्ञहरूका अनुसार, कुनै पनि प्रक्रियामा पैसा खर्च गर्नु नपर्ने भएकाले योगबाट पाइने फाइदा गुणात्मक हुन्छ । दिनहुँ योग गर्दा छालाको चमक र सुन्दरता पाउन सकिन्छ । यति मात्र नभई, बुढयौलीलाई पनि पर धकेल्न सकिन्छ । योग अनुसरण गर्ने मानिस एभरग्रिन हुन्छ ।
भारतको हरिद्वारस्थित दिव्य योग मन्दिरका आचार्य बालकृष्णले कान्तिपुरसँगको अन्तरवार्तामा भनेका थिए, ‘अनुहार टल्काउन सौन्दर्य प्रसाधनको प्रयोग नगरी योगको उपयोग गरौं । अनुहारमा बाहिरबाट पोत्ने कृत्रिम वस्तु अस्थायी हुन्छ भने योगका माध्यमले आएको सुन्दरता स्थायी ।’
बालकृष्णका अनुसार, भित्रबाट स्वस्थ मानिस, जसको पेट सफा छ, पाचन प्रणाली ठीक छ, त्यस्तो मानिसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक पाइन्छ । नियमित रूपमा योग गर्नाले अनुहारको कालो पोतो, चाया, डन्डिफोर लगायत जस्ता कुरा पनि निर्मुल हुन्छन् । बिरामी भएकाहरू प्राणयाम, कपालभाँती, अनुलोमबिलोम गर्नाले सञ्चो हुनुका साथै यसबाट अनुहारको चमकसमेत बढ्छ । योगले दुवै काम हुन्छ । प्राकृतिक रूपमा जुन चमक छ, प्रकाश, कान्ति छ त्यो हाम्रोभित्रबाट आउँछ ।
शरीरभित्र हुने हरेक नकारात्मक असरको प्रभाव अनुहार र सौन्दर्यमा प्रतिबिम्बित हुने भएकोले भित्रबाट शरीरलाई स्वस्थ राख्दा सुन्दरतासमेत बढ्छ । पुरुषको दाँजोमा महिलाहरूलाई सुन्दरतासम्बन्धी समस्या बढी देखिने उल्लेख गर्दै पतञ्जली योग समिति, नेपालका प्रमुख एवं योगगुरु लवदेव मिश्र भन्छन्, ‘महिलाहरूमा मासिक धर्मको गडबडी, पाठेघरका विभिन्न खाले समस्याले गर्दा पुरुषको तुलनामा उनीहरूमा सुन्दरतासम्बन्धी बढी विकृति पाइने गरेको छ ।’
महिनावारी र पाठेघर समस्याको प्रत्यक्ष असर अनुहारमा पर्ने उल्लेख गर्दै मिश्र थप्छन्, ‘शरीरको आकर्षणको पहिलो सर्त व्यक्तिविशेष शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ ।’
योग सन्तुलित रूपले व्यक्तिमा भएको शक्तिमा सुधार वा त्यसको विकास गर्ने शास्त्र रहेको जनाउँदै नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा. रामदेव यादव भन्छन्, ‘योग आफैंमा कुनै व्यायामको प्रकार होइन, यो यसभन्दा पनि सूक्ष्म कुरा हो । यसमा शरीरका समस्त अंगप्रत्यंग र हरेक ग्रन्थीको व्यायाम हुन्छ अनि अंगप्रत्यंगले सही रूपमा काम गर्न थाल्छन् ।’
योगले रोगसँग लड्ने शक्ति बढाउँछ । योगलाई दिनचर्या बनाउने व्यक्ति निरोगी र बलवान् हुन्छ ।
आयुर्वेदिक चिकित्सक डा. वशम्वदाम्बा कौण्डिन्यायनी महिनावारी भइरहने महिलाहरूमा महिनैपिच्छे हार्मोन तलमाथि भइरहनाले चाया, कालोपोतो, डन्डिफोर, मोटोपनाजस्ता सुन्दरतालाई प्रभावित पार्ने समस्या बढी देखिने बताउँछिन् ।
महिलाहरूले नियमित रूपमा स्वस्थकर हिसाबले महिनावारी होस् भन्न, गर्भाशयलाई स्वस्थ राख्न, पेटका मांसपेशीलाई बलियो बनाउन पश्चिमोत्तानासन, धनुरासन, शलभासन, नौकासन, भुजंगासन जस्ता योगाभ्यास गर्नु फाइदाजनक हुने डा. कौण्डिन्यायनी सुझाउँछिन् ।
अनुहार सुन्दर बनाउने महत्त्वपूर्ण पक्ष पाचन प्रक्रियाको सबलता नै हो । पेट ठीक रहनु, मासिकधर्म स्वस्थकर र नियमित हुनु एवं गर्भाशयमा कुनै प्रकारको समस्या नरहनु महिला सौन्दर्यका लागि अत्यावश्यक रहेको अौंल्याउँदै मिश्र थप्छन्, ‘यसको लागि बिहानबेलुका आधा घण्टा कपालभाँती गर्नोस् । यसबाट अनुहारको सुन्दरता बिगार्ने तत्त्वहरू नाश हुन थाल्छन् । तर, कपालभाँती बिहान खाली पेटमा गर्नुपर्छ । कपालभाँती गर्न बेलुका मात्रै अनुकूल हुने हो भने ठोस पदार्थ खाएको पाँच घण्टापछि मात्र गर्नुपर्छ ।’
कपालभाँतीले शरीरको रक्त शुद्घीकरणमा सहयोग पुर्याउँछ । भस्त्रिका र अनुलोमबिलोम गर्दा पनि रक्त शुद्धीकरण हुने जनाउँदै मिश्र भन्छन्, ‘यस्ता यौगिक प्रक्रिया अपनाउनाले शरीरमा प्रशस्त अक्सिजनसमेत पुग्न पाउँछ ।’
हामी छाला चम्किलो बनाउन प्राय: पानी नै प्रयोग गर्ने गर्छौं । अनुहार उज्यालो देखियोस् भन्नका लागि पनि धोईपखालीमै बढी लाग्ने गर्छौं । तर, योग गुरुहरूका अनुसार, पानी शरीर धुनमा भन्दा खान बढी उपयोग गरे छालामा निखार आउँछ ।
तनाव सुन्दरताको शत्रु हो । सधैँ तनावमा रहने मानिसहरू अनुहार जतिसुकै राम्रो भए पनि नराम्रै देखिन्छन् । तनावको प्रत्यक्ष असर अनुहारमा देखिने गर्छ । तनावमुक्त हुन र शरीरमा बढी मात्रामा अक्सिजनको प्रवाह होस् भन्नका लागि भस्त्रिका र अनुलोमबिलोमजस्ता उपाय अपनाउन सकिने मिश्रको सुझाव छ ।
शरीर बोझिलो हुँदै गए, तौल बढ्दै गए पनि सौन्दर्य प्रभावित हुने गर्छ । शरीर छरितो भएको मानिस सुन्दर देखिन्छ र त्यस्तो छरितोपन योगका माध्यमले पाउन सकिन्छ ।
छालाको चमक र रोगबीच सम्बन्ध हुन्छ । मृगौलाको समस्या भएकाहरूको छाला मटमैलो खाले देखिन्छ । कलेजो र पाचन प्रक्रियामा गडबडी, कोलेस्ट्रोलको समस्या भएकाहरूमा आँखावरिपरि दाग हुन थाल्छ । पाठेघर र सेतो पानी बग्ने समस्या भएका तथा फेलोपिन टयुब बन्द भएकाहरूको अनुहार पनि सफा हुन्न ।
शरीरमा रगतको सञ्चार पर्याप्त भएपछि छाला चाउरी पर्ने प्रक्रियासमेत मत्थर हुन्छ । योगगुरु मिश्रका अनुसार महिलाहरूले कपालभाँती, भस्त्रिका र अनुलोमबिलोमलाई आफ्नो दिनचर्या बनाए सुन्दरता र स्वास्थ्य दुवै कायम राख्दै राम्रो जीवन बिताउन सक्छन् ।
सुन्दरताअन्तर्गत लम्बाइ बढाउन नियमित ताडासन, पेटको मांसपेशीलाई बलियो बनाउन उत्तानपादासन, अनुहारको चमक बढाउन, रगत सफा गर्न शीर्षासन र सर्वांगासन लाभदायक हुने धारणा डा. कौण्डिन्यायनीको छ ।
अझ शीर्षासन त बुढयौलीको प्रक्रियालाई परपर सार्ने सबैभन्दा राम्रो आसन हो । यसले शिरको भागमा रक्तसञ्चार बढाउँछ जसले गर्दा कपाल फुल्ने र झर्ने, अनुहारमा चाउरी पर्ने क्रम घट्दै जान्छ । शीर्षासन गर्न नसक्नेका लागि भने सर्वांगासन पनि त्यस्तै फाइदाजनक हुन्छ ।
कपालभाँती, अनुलोमबिलोम जस्ता प्राणायामका कारण शरीरमा बढी मात्रामा अक्सिजनको प्रवाह हुन्छ । यसो हुँदा रगतमा शुद्घता आउँछ । अनुहारको चमक बढ्छ । शरीरको कोष र तन्तु मर्ने प्रक्रिया निष्क्रिय हुन्छ । सम्पूर्ण शरीरमै सकारात्मक प्रभाव पर्छ ।
भारत सरकारको आयुष मन्त्रालयले प्रकाशन गरेको सामान्य योग अभ्यासक्रम (प्रोटोकल) का अनुसार, शारीरिक स्वास्थ्य, स्नायुतन्त्र, कंकाल तन्त्र, मुटु तथा नाडीको स्वास्थ्यका लागि राम्रो अभ्यास हो– योगासन । योगले महिनावारीलाई नियमित गर्छ । मधुमेह, साससम्बन्धी विकार, उच्च र निम्न रक्तचाप, जीवनशैलीसम्बन्धी थुप्रै विकार व्यवस्थापनमा यो लाभकारी छ । यसले उदासी रोग, थकाइ, चिन्तासम्बन्धी विकार कम गर्न पनि सघाउँछ ।
आफ्नै तालले जथाभावी योगासन गर्दा फाइदा मात्रै हुन्न । केही खास शारीरिक स्थितिमा केही विशेष योगासनहरू गर्न नहुने योगगुरुहरू बताउँछन् । यौगिक क्रिया पूर्ण सुरक्षित भए पनि विशेषज्ञसँग सल्लाह लिएर आफू अनुकूल योगासन सिकेर गर्दा चाहिँ फाइदा मात्रै हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.