-->
ओखलढुंगा आक्रमण गर्न जाँदा
Advertisement

यसरी जोडिएँ राजनीतिमा
पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै भएकाले मलाई स्वभावत: राजनीतिले आकर्षित गर्यो । सानै उमेरदेखि कांग्रेसले सुरु गरेको राजनीतिक ‘मिसन’ पूरा गर्न म पत्रवाहक व्यक्तिका रूपमा काम गर्न थालेँ । मलाई घर–परिवारदेखि कांग्रेसको राजनीतिक मिसनमा सहभागी नेताहरूले चिठीपत्र आदान–प्रदानका लागि खटाउँथे, म त्यसरी नै खटिएँ । यसरी जोडिएको थियो, मेरो राजनीतिक कर्म ।
२००७ सालमै नेपालमा क्रान्ति गर्ने संकल्पसहित हामी राजनीतिमा होमिएका थियौँ । ०१५ सालमा पेशलकुमार पोखरेल ओखलढुंगामा कांग्रेसबाट चुनाव लडेका थिए । त्यो निर्वाचनमा हामी गीत गाउँथ्यौँ, ‘चारतारे झन्डा राम्रो, पेशलकुमार हाम्रो † दुनियाँले देख्दाखेरि भन्छन् कति राम्रो ’
हाम्रो त्यसवेलाको खटाइले पनि हुनुपर्छ पेशलले चुनावमा बाजी मारे । तर, २०१७ सालमै काठमाडौंमा राजा महेन्द्रले बिपी कोइरालामाथि ‘कु’ गरे । उनलाई जेलमा हालियो । हामी ओखलढुंगामा रहेकालाई पनि पक्राउ गरिँदै छ भनेर व्यापक हल्ला चलाइयो ।
घर–परिवार, गाउँ–समाजका सबैले हामीलाई गाउँमा नबस्न आग्रह गरे । हामीलाई ब्रिटिस आर्मीमा भर्ती हुन जान दबाब पर्यो । त्यसवेला धरानमा ब्रिटिस आर्मीले भर्ती खोल्न थालेको रहेछ । त्यहीँ गयौँ, ०१७ सालमा । गएका १५ जनामध्ये १४ जना छनोट भएर भर्तीमा पनि पुग्यौँ । सायद, कर्ममा राजनीति गर्नै लेखिएको रहेछ, ०२४ सालमा हाम्रो पल्टन जिटआर (गोर्खा ट्रान्सपोर्ट रिजमेन्ट) कटौतीमा पर्यो । हामी पुन: फर्किएर आफ्नै जन्मथलो ओखलढुंगामै फर्कियौँ ।
हामी स्वदेश फर्किंदा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित थियो । पक्राउ परेका बिपी कोइराला छुटेका थिएनन् । त्यसवेला कांग्रेस पार्टीको भूमिगत शैलीमा संगठन बन्ने जस्ता काम भई नै रहेका थिए । पल्टनमा जानुअघिका पुराना साथीसँग भेटघाट हुन थाल्यो । ०२५ सालमा बिपी कोइराला जेलबाट छुट्नुभयो । उहाँ त्यसपछि बेलायत जानुभयो र त्यहीँबाट उहाँले आह्वान गर्नुभयो, ‘नेपालमा प्रजातन्त्र पुन: प्राप्तिका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ । त्यसका लागि नेपालवासी जनताले साथ र सहयोग दिनुपर्छ ।’ लाग्यो, अब पार्टीलाई हामीजस्ता मान्छेको आवश्यकता छ । हामी पनि इच्छुक थियौँ । फेरि पार्टीमा लाग्यौँ ।
दिल्ली पुग्दाको कथा
पल्टन छाडेर पार्टी काममा लाग्ने र पढ्ने पनि भनेर म काठमाडौं शंकरदेव क्याम्पस (त्यसवेला नेपाल नेसनल कलेज भनिन्थ्यो) मा भर्ना भएँ । नेपाल विद्यार्थी संघ र छात्रा संघ गरी दुइटा संगठनलाई एउटै बनाउने काम पनि त्यही वेला भयो । ०२८ सालमा मलाई पक्राउ वारेन्ट जारी भयो । बाग्मती, पूर्वाञ्चल र नारायणी अञ्चलबाट पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि बिपीले मलाई वनारस आउन आग्रह गर्नुभयो । म उहाँकै आग्रहमा वनारस पुगेँ ।
त्यहाँ उहाँले सशस्त्र संघर्ष गर्ने योजना सुनाउनुभयो । नेपालमा क्रान्ति गर्नुपर्छ, त्यसको तयारी गर्नुपर्छ भनेर हामी भारत गएका थियौँ । भारत जाँदा हामीसँग डेढ–दुई सयको जत्था थियो । त्यसमध्ये ५५ जनाजति गाडी चलाउन जान्ने थियौँ । क्रान्ति त गर्ने, तर त्यसका लागि आवश्यक पर्ने आर्थिक जोहोको व्यवस्थापन कसरी गर्ने भन्ने प्रमुख टाउको दुखाइको विषय थियो । पार्टी चलाउन आर्थिक संकलन गर्ने उद्देश्यले हामी एक सयजनाजति कलकत्ता पुग्यौँ । त्यहाँका १० वटा कारखानामा १०–१० जनाका दरले काम गर्यौँ । महिनाको १८ सय रुपैयाँ दिन्थ्यो, त्यसवेला । एक हजार पार्टीलाई बुझाउँथ्यौँ, आठ सय रुपैयाँले हामीले आफ्नो पकेट खर्च जुटाउँथ्यौँ । त्यसरी काम गरेर महिनामै एक लाख रुपैयाँ पार्टीलाई बुझाउने गथ्र्यौं ।
कारखानामा काम गर्दै गर्दा ३–४ महिनापछि साथीहरूले काम गर्न मानेनन् । हामी त क्रान्ति गर्न आएका थियौँ भन्न थाले । साथीहरूले त्यसरी काम मात्रै गरेर बस्दा क्रान्ति नहुने भनेपछि हामी फेरि वनारस फर्कियौँ । पार्टी पनि बचाउने र आफू पनि बाँच्ने केही विकल्प त्यहाँ पनि हामीले सोच्नै पथ्र्याे । फेरि हामी ४७ जनाजतिले जोगबनी, फारबिसगन्जदेखि कटियानीलगायत क्षेत्रमा चल्ने बस, जिप चलाउन थाल्यौँ । त्यसरी काम गर्दा तीन–चार लाख रुपैयाँजति कामाउँथ्यौँ । तर, त्यसरी कमाएको रकम गाडी मर्मत–सम्भार गर्दा धेरै नै खर्च हुन्थ्यो । त्यो कामलाई पनि साथीहरूले झन्झटका रूपमा लिन थाले । अब के गर्ने ? त्यसपछि हामीले प्लेन हाइज्याकको योजना बनाएका हौँ ।
अनि प्लेन हाइज्याक गर्यौँ
प्यालेस्टाइनकी एकजना महिला क्रान्तिकारी लैला खालिलले प्लेन हाइज्याक गरेकी रहिछिन् । त्यसले हामीलाई प्रेरणा मिल्यो । गिरिजाप्रसाद कोइरालाले हामीलाई तिमीहरू भूतपूर्व लाहुरे हौ, केही आइडिया होला, प्लेन हाइज्याकिङको प्लान बनाऊ भन्नुभयो । तर, हामीसँग त्यस्तो कुनै अनुभव थिएन । हातहतियार मात्र चलाउन आउँथ्यो हामीलाई । नेताले आदेश दिएपछि गर्नैपर्यो । हामी ती प्यालेस्टाइन महिलाले कसरी प्लेन हाइज्याक गरेकी रहिछिन् भनेर अध्ययन गर्न थाल्यौँ ।
त्यही क्रममा म काठमाडौं आइपुगँे, वनारसबाट । काठमाडौंमा आएर इजरायली एम्बेसीमा पुगेँ । त्यहाँ २६ वर्षीया इजरायली प्रथम सेक्रेटरी थिइन्, उनलाई भेटेँ । मैले उनलाई ओखलढुंगामा लाइब्रेरी खोल्न लागेको र आफू कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको पार्टी–कार्यकर्ता भएको बताएँ । आफूलाई आधुनिक क्रान्तिको बारेमा केही जानकारी लिनुपर्ने भएकाले त्यसबारेका किताब झिकिदिन आग्रह गरेँ । उनले आफूसँग त्यस्तो किताब नभएको बताइन् । तर, मेरो आग्रहपछि उनले चार हप्ताको समय देऊ, अमेरिकाबाट झिकाइदिन्छु भनिन् ।
चार हप्तापछि म उनलाई भेट्न पुगेँ । उनले काठमाडौंमा किताब आइसकेको तर आफूले लिन नभ्याएको बताइन् । त्यसको तेस्रो दिन मलाई उनले बोलाएर किताब उपलब्ध गराइन् । त्यो किताब बोकेर फेरि म वनारस पुगेँ । तर, ती किताबमा त्यस्ता योजना कसरी बने भन्ने खासै उल्लेख नै रहेनछ । त्यसैले ढाकबहादुर राई र म दुईजना बसेर प्लानिङ गर्न थाल्यौँ । कसरी गर्ने ? के गर्ने भनेर । भित्रबाट सहयोग गर्ने दुर्गा सुवेदीलगायतका अन्य दुई–तीनजना विद्यार्थी थिए ।
के–के भएको छ, कसरी भएको छ, को–को आउँदै छ भनेर सबै सूचना आइरहेकै थिए । ७० लाख भारु विराटनगरबाट आउँदै थियो । गन्दा यसो भयो, यति गनियो भन्नेसम्मका सूचना आइरहेका हुन्थे । हामीले कसरी हाइज्याक गर्ने, गाडी कहाँ बन्दोबस्त गर्ने, कसकसले गाडी चलाउने जस्ता सबै योजना बनायौँ ।
जहाजमा कसरी चढ्ने, कसले पेस्तोल देखाउने, ग्रिनेट कसले बोक्ने, कसले बोल्ने आदि सबै कामको बाँडफाँड गरेका थियौँ । प्लेनभित्र वसन्त भट्टराईले पेस्तोल बोक्ने, नगेन्द्र ढुंगेलले ग्रिनेड बोक्ने र ढोकाको छेउमा दुर्गा सुवेदी बस्ने र उनले प्लेन हाइज्याक भएको घोषणा गर्ने, नगेन्द्रले पाइलटलाई पेस्तोल देखाएर फारबिसगन्जतर्फ लैजाने भनी कार्यविभाजन भएको थियो ।
उता फारबिसगन्जमा चाहिँ मसहित पाँचजना ड्राइभर तीनवटा जिप तयारी हालतमा राखेर बसेका थियौँ । जिपमा पनि आठ–नौ वटा नम्बर प्लेट अदलबदल गर्ने गरी तयारी अवस्थामा थियौँ । एउटा जिपलाई दिल्लीतर्फ र अर्काेलाई दार्जिलिङतर्फ लैजानेसम्मका योजना बनेका थिए । त्यसरी कब्जा गरिएको प्लेनमा १० वटा बक्समा ३० लाख भारु थियो । यसरी संकलन गरिएको केही रकम पछि भारत सरकारले जफत पनि गर्यो । बाँकी रकमले हामीले क्रान्तिका लागि आवश्यक हातहतियार खरिद गर्न खर्च गर्यौँ । हतियार संकलन गर्न शैलजा आचार्य, खड्कबहादुर विक, लोकबहादुर गुरुङहरू विशेष रूपमा लागेका थिए । उनीहरूको निर्देशनमै हमी कहिले कलकत्ता, कहिले इलालावादसम्म पनि पुगेर हतियार जम्मा गरी ल्याउँथ्यौँ ।
आक्रमणको ठाउँ खोजी
हातहतियार संकलन भएपछि नेपालमा क्रान्ति गर्ने योजना बन्यो । हतियार एक ट्रक नै थिए । तर, विभिन्न जिल्लामा बाँडिएर जानुपर्ने भएकाले हामीलाई ५०/६० थानजति मात्रै हतियार चाहिन्थ्यो । त्यही हतियार लिएर हामी नेपाल छिरेका थियौँ । क्रान्तिका लागि सेनाको ब्यारेक, पुलिस चौकी आक्रमण गर्ने योजना बने । तर, कहाँ आक्रमण गर्ने ? हामीले केही जिल्लाको सर्भे पनि गर्यौँ ।
विराटनगर, धनुषा, दाङ, भारतसँग जोडिने जिल्ला थिए । त्यस क्षेत्रमा हामीले सर्भे गरेका थियौँ । आक्रमणका लागि प्रवेश गर्न पनि सजिलो, भाग्न पनि सजिलो । त्यस्तै केही पहाडी जिल्ला, जहाँ आक्रमण गरेर लुक्न सजिलो हुन्थ्यो ।
पहाडी जिल्लामा सर्भे गर्दै जाँदा ओखलढुंगा पनि हामीले पार्यौँ । त्यहाँका भूगोलको जानकारी भएकाले पनि त्यो हाम्रो रोजाइको क्षेत्र बन्न पुग्यो । त्यसपछि तराईका जिल्ला छाडिए । ओखलढुंगामा तत्कालीन शाही सेनाको ब्यारेक पनि भएको हुनाले त्यही कब्जा गर्ने योजना बन्यो । आक्रमण गर्ने दिन औँसीको रात पार्नुपर्ने, चाडबाडका वेला पार्नुपर्ने सुझाब साथीहरूबाट आएअनुसार योजना बनायौँ । राजनीतिक रूपमा म, गोपाल राई, राम उपाध्याय, लक्ष्मण उपाध्याय, पदमप्रकाश पुरी सैनिकका रूपमा क्याप्टेन यज्ञबहादुर थापा, अगमणि राई, ढाकबहादुर राई, लोकबहादुर गुरुङ, दीपबहादुर देवानलगायत साथीहरूको कार्यविभाजन भयो । त्यहीअनुसार हामी ओखलढुंगा सशस्त्र क्रान्तिका लागि मुभ भएका थियौँ ।
ओखलढुंगा आक्रमणका लागि निस्कँदा
हामी मुजफ्फरपुर भन्ने ठाउँको चन्दनपट्टीबाट ओखलढुंगा लक्ष्य बनाई हिँड्दा ३५ जना टिममा थियौँ । बाँकी त्यही ब्यारेकमा नै जम्मा हुने, मोरङ तरिसकेपछि भेट गर्दै त्यहाँ पुग्ने हाम्रो योजना थियो । आक्रमणस्थलसम्म पुग्न गाइडहरू पनि तोकिएका थिए । त्यहीअनुसार उनीहरूलाई पहिले नै त्यहाँबाट हिँडाइएको थियो । घुर्मी सुनकोसीको टोक्सेलघाटदेखि ओखलढुंगा ब्यारेकसम्म गाइड गर्न बालाराज कार्की, छत्रध्वज बस्नेतले जिम्मेवारी पाएका थिए । उनीहरूलाई करिब १५ दिनअघि नै गिरिजाप्रसाद कोइरालाले बाटोखर्च उपलब्ध गराई पठाइसकेका थिए ।
त्यसपछि दोस्रो रुट जयनगरदेखि कटारी हँुदै सुनकोसीको टोक्सेलघाटसम्म पुर्याउने जिम्मा थियो, गोपाल राई र रामबहादुर श्रेष्ठलाई । जयनगरबाट गोपाल र रामबहादुरसँग हामी एउटै रेलबाट चढेर आएका थियौँ । हामी चाँडै आएर अगाडिको डिब्बामा चढ्यौँ, उनीहरू पछाडि आएर पछाडिको डिब्बामा रहेछन् । हामी जयनगर आएर ओर्लियौँ । तर, हामीलाई रुट देखाउने गाइड आइपुगेनन् । उनीहरू सम्पर्कमा भएनन् ।
उनीहरूले हामीलाई नदेखेपछि फेरि फर्केर उता फारबिसगन्जमा गिरिजाप्रसाद कोइरालालाई भेट्न पुगेछन् । जयनगरमा पनि हामी त्यसपछि उनीहरूलाई खोज्न जाने कि सीधै अगाडि बढ्ने भनेर दुई गु्रपमा विभाजन भयौँ ।
गोपाल राईहरू आइपुगेका छैनन्, उनीहरूलाई लिन जानुपर्छ भनेर ढाकबहादुर राई र दीपबहादुर देवान फर्किए । हामी त्यतै अलमलिइरह्यौँ । हामीले यात्रा तय गर्नु थियो, रातिको समयमा त्यहाँबाट सिराहाको मिर्चैया पार गरिसक्नुपर्ने थियो । त्यहाँबाट कटारीको जंगलमा हामी रातकै समयमा पुगिसक्नुपर्ने थियो । तर, त्यसरी जान सकेनौँ । ढाकबहादुरहरूसँग पनि हाम्रो सम्पर्क नै टुट्यो । उनीहरूसँग पनि हातहतियार र केही नक्सा थिए । कागजपत्र, नक्सा सबै छाडेर उनीहरू हिँडेछन् ।
हामी ३१ जना सँगै थियौँ । अब ढिला गर्नु हुँदैन । बाटो पार गर्दै गर्नुपर्छ भनेर हामी अन्दाजकै भरमा भोलिपल्ट मिर्चैया पुग्यौँ । मिर्चैया पुग्दा बिहान भइसकेको थियो । त्यहाँ हामीलाई जनताले सोधेका थिए– कता जान लागेको ? हामी सैनिक पोसाकमा थियौँ । हामीले सरुवा भएर हिँडेको भन्यौँ । त्यहाँबाट हामी कटारी आयौँ । सैनिक पोसाक हामी केहीले फारबिसगन्जबाटै लगाएका थियौँ, केहीले जयनगरमा आएर लगाएका थियौँ ।
उज्यालो भएपछि एउटा जंगलमा पुगेर दिनभर त्यहीँ बस्यौँ । त्यहाँ पनि ओखलढुंगाबाट आएका केही साथीसँग भेट भयो । पछि कटारीवालालाई पनि थाहा भयो, हामी यसरी बसेका छाँै भनेर । हामीले कटारीबाट एकजना भाइ महेश कोइरालालाई टोक्सेलघाटमा सम्पर्क बनाउन पठायौँ । हामीसँग आउनेमा सबैभन्दा कान्छा, चलाख र सम्पर्क सूत्र मान्छेलाई पनि चिनेका व्यक्ति उनै थिए । तर, उनी सम्पर्क गर्न भनी पठाइएका व्यक्ति नभेटेपछि फर्केर आए ।
सम्पर्क स्थापित नभए पनि हामी टोक्सेलघाटतिर अघि बढ्यौँ । त्यहाँ धामी खतिवडा भेटिनुभयो । हाम्रा सैनिक कमान्डर यज्ञबहादुर थापा बिरामी पर्नुभएको थियो । धामी खतिवडाले सहयोग गर्नुभयो । चामल, च्याँख्लालगायत सबै चिजबिज बन्दोबस्त गरेर हामीलाई खानपानको व्यवस्था गरिदिनुभयो ।
आक्रमणको योजना बनाएर हिँडेदेखि आठ–नौजना साथीलाई हामीले फर्काइसकेका थियौँ । तीन–चारजना साथी बिरामी पर्नुभयो । केही हामी हतियार चलाउने मान्छे थियौँ, राम–लक्ष्मण जुम्ल्याहा दाजुभाइ थिए । उनीहरूलाई हातहतियार चलाउन नआए पनि धेरै विषयको जानकारी थियो ।
हामी निर्धारित समयभन्दा ढिला भइसकेका थियौँ । थोरै लापरबाही गर्दा हामी जुनकुनै वेला मारिन सक्थ्यौँ । त्यसपछि हामीले योजना बदलेर सोलुखुम्बु जाने निर्णय लियौँ । त्यसवेला केही साथीले त्यहाँबाट फर्कने कुरा पनि गरेका थिए । तर, कसरी फर्किने ? हातहतियार साथमा छ, थन्क्याउन सम्भव छैन, फ्याँक्न पनि भएन, त्यत्रो दु:खले अर्जेको सम्पत्ति ! हातहतियार नै बोकेर जाँदा सीधै सरकारले पनि पक्राउ गर्ला भन्ने थियो ।
त्यसपछि हामीले बाटो बदलेर सोलुखुम्बु भएर ब्यारेक कब्जा गर्ने मिसनमा हिँड्यौँ । टिम्बुरबोटे तिम्ला गाविसमा पर्छ, त्यहाँको जंगलमा पस्यौँ । हिउँदको वेला भए पनि त्यहाँ हिउँ परिरहेको हुन्थ्यो । एउटा सानो ओडार रहेछ त्यहाँ, त्यहीँ पुगेर बास बस्यौँ । केही साथी त्यही गाविसका थिए, नेत्रबहादुर कार्की, अम्मरबहादुर खड्का, शमशेरबहादुर कार्की । त्यहीँका भएकाले उनीहरूलाई खाना लिन पठाइयो । तर, उनीहरू फर्केर आएनन् । सम्भवत: उनीहरूलाई पनि त्यति नै वेला पक्राउ गरिसकिएको हुनुपर्छ ।
हामी ३० मंसिरमा त्यहाँ बास बसेका थियौँ । भोलिपल्ट पुस १ गते थियो । ०३१ साल पुस १ गते हामीले हमला गर्ने भनेर लामो समयअघि तयारी गरेका थियौँ । राजनीतिक कु भएकै दिन ठूलो आक्रमण गर्ने भनेर यो दिन तोकिएको थियो । तर, विडम्बना भइदियो । पुस १ गतेको बिहान शाही सेनाले हामीमाथि हमला बोल्यो । धेरै साथी मारिए ।
हामी बसेको ओडार र आक्रमण गर्ने योजना बनाइएको ब्यारेक करिब नौ–दश किलोमिटरको फरकमा थियो होला । हामी सुतिरहेका थियौँ, समय बिहानको साढे ४ बजेको हुँदो हो । एक्कासि कानै सिरिंग हुने गरी हामी सुतेको ओडारभित्रै ग्रिनेड पड्कियो । कतिलाई ग्रिनेडको छर्राले भेट्यो, कति साथी ग्रिनेट पड्किएपछि ओडार फुट्दा थिचेर मारिए ।
राम–लक्ष्मण, पदमप्रसाद पुरी, श्याम गुरुङ ओडारमै मारिए । कृष्णबहादुर लिम्बू घाइते भएर निस्किए, उनलाई बाटोमा आउँदा मारेछन् । मानबहादुर लिम्बूलाई पनि बाटोमा आउँदै गर्दा मारेछन् । अगमणि राईलाई पनि घाइते भएर निस्कन लाग्दा मारेछन् । शिवकुमार राईलाई समातेर लगेर सोलुखुम्बुमा मारेछन् ।
घाइते नभई त्यहाँबाट निस्कनेमा क्याप्टेन यज्ञबहादुर थापा, लोकबहादुर गुरुङ, कृष्णबहादुर लिम्बू र म थियौँ । बीच बाटोमा आएपछि बाटोको जानकारी नहुँदा कृष्णबहादुर लिम्बू पनि मारिएछन् । क्याप्टेन यज्ञबहादुर थापा आफ्नै गाउँबाट पक्राउ परे । उनलाई पक्राउपछि काठमाडौं ल्याइयो । पछि उनलाई पनि मारियो । हाम्रो टोली तितरबितर भयो । जशधन राई, लोकबहादुर र म आ–आफ्नै तवरले भारत पुग्यौँ । म सल्लेरी, खिजीको लेक, सोलखुम्बु, रामेछाप हुँदै भारत पुगेको थिएँ ।
बिपीलाई १७ पेज लिखित बयान
भारत पुगेपछि गिरिजासँग भेट भयो । गिरिजाले बिपीलाई भेट्न भन्नुभयो । बिपीले घटना विवरण लेखेर देऊ भन्नुभयो । मैले १७ पेज लामो घटना विवरण लेखेर दिएको थिएँ । सुरुका दिनदेखिका सम्पूर्ण इतिवृत्तान्त लेखेर बिपीलाई बुझाएँ । लोकबहादुरले सात पाना, गोपाल राईले पाँच पानामा लेखेर दिए भन्थे ।
ओखलढुंगा क्रान्ति असफल हुनु र हाम्रो क्षति हुनुमा बाटो देखाउने मार्गदर्शकका रूपमा खटाइएका साथीहरूको दोष मुख्य थियो । आक्रमणका लागि हिँडेकै दिनदेखि हामीले विभिन्न खालका ठक्कर खान थालेका थियौँ ।
तथापि, हामीले आक्रमण सफल बनाउन ठूलो मिहिनेत गर्यौँ, बलिदान दियौँ । तर, पछि कांग्रेसले त्यो घटनाको सम्मान गर्न सकेन ।
आन्दोलनमा सहभागीमध्ये लोकबहादुर र म मात्रै जीवित छौँ । लोकबहादुर अहिले बेलायतमा छन्, म यतै राजनीतिमै छु । अहिले म नयाँ शक्तिको राजनीति गरिरहेको छु । क्रान्ति भनेको परिवर्तन हो, सबै मिलेर सशस्त्र क्रान्ति गरी मुलुकमा परिवर्तन ल्याउने भनेर लागेका थियौँ, त्यतिवेला । त्यसवेलाको नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूले पवित्र उद्देश्यले नै क्रान्ति गर्न लगाए ।
तर, पछि उनीहरूले हामीमाथि जुन खालको सम्मान गर्नुपर्ने थियो, त्यो देखाउन सकेनन् । हामीले क्रान्तिको आवाज उठाएका थियौँ । पार्टीको हितमा काम गरेका थियौँ, तर पार्टीले हामीजस्ता मान्छेलाई तिरस्कार र अपहेलित गर्यो । तथापि, अझै ऊर्जा मरेको छैन । ७१ वर्षको यो उमेरमा पनि अझै देश र जनताका लागि केही गरौँ भन्ने आत्मविश्वास छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.