-->
खाद्य सामग्री किन्नुअघि ख्याल गरौँ
Advertisement

उत्पादकले बजारमा उपलब्ध गराएका सबै खाद्यवस्तुका गुणस्तरबारे आमउपभोक्तालाई जानकारी गराउन सकेका छैनन् । उपभोग्य वस्तुको गुणस्तरका विषयमा बारम्बार प्रश्नचिह्न उठ्ने गरेको छ । दैनिक जीवनमा अत्यधिक प्रयोग हुने केही खाद्यवस्तुको गुणस्तरबारे विभागका खाद्य प्राविधिक मदनकुमार चापागाईंलाई सोधेका थियौा । खाद्यवस्तुको गुणस्तर अवस्थाबारे उनले यसरी वर्णन गरे :
तेलमा उपभोग्य मिति
दैनिक जीवनमा उपभोग भइरहेको खानेतेलमा एसिडको मात्रा बढी देखिन्छ । उद्योगले कम गुणस्तरको कच्चा तेल प्रयोग गर्ने र प्रशोधन गरी उपभोगयोग्य बनाइएको तेल पनि लामो समय भण्डारण गर्दा एसिडको मात्रा बढी हुने गर्छ । उत्पादित तेल तुरुन्तै उपभोक्तासम्म नपुर्याई लामो समयसम्म भण्डारण गर्दा एसिडको मात्रा बढेर गुणस्तर खस्कन्छ । तोरी, सनफ्लावर, सोयाबिनलगायतका तेलमा यस्तो समस्या छ । सोयाबिनको तेलमा अलि बढी समस्या रहेको हाम्रो रिपोर्टले देखाउँछ । धेरै समय राख्दा प्रशोधनका समयमा प्रयोग गरिएको रसायन बिग्रिएर एसिड उत्पादन हुन्छ र तेल बिग्रन्छ । हाम्रै घरमा पनि लामो समय भण्डारण गरेको तेल ह्वास्स गनाउने गर्छ, त्यो एसिडको मात्रा बढी भएर हो । यस्तो तेल स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन ।
प्याकिङ गरिएको तेलमा उपभोग मिति उल्लेख हुन्छ । सो मितिसम्म तेल उपभोग गर्दा गुणस्तर कायम हुनुपर्छ, तर उपभोग्य अवधिभित्रकै तेलका प्याकेट परीक्षण गर्दा पनि एसिडको मात्रा बढी भएर कम गुणस्तरको भएको फेला पारेका छौँ । यसर्थ, उपभोग्य मिति नसकिएका प्याकेटका तोरीका तेल पनि उपभोग गर्न जोखिम रहेको देखिन्छ । यस्तो कुरा उपभोक्ताले देखेर वा हेरेर थाहा पाउने विषय होइन, प्रयोगशालामा परीक्षण गरेपछि मात्रै थाहा हुन्छ । यसर्थ, उपभोक्ताले कम्तीमा उपभोग्य मिति सकिएको तेल प्रयोग गर्दैनगरौँ ।
खानेपानी जारमा सिलिङ क्याप
प्रशोधित खानेपानी (बोतल र जारमा पाइने) मा मानव स्वास्थ्यलाई हानि गर्ने कोलिफर्म नामको जीवाणु धेरै नै देखिने गरेको छ । विभागबाट दुई सयभन्दा बढी उद्योगले अनुज्ञापत्र लिएर प्रशोधित पानी उत्पादन गर्दै आएका छन् । तर, अनुज्ञापत्र नलिई पानी उत्पादन गरी बजार पठाउने कम्पनी पनि छन् भन्ने सुन्नमा आएको छ । बोतलमा विभागले दिएको अनुज्ञापत्र उल्लेख हुन्छ । उक्त अनुज्ञापत्र नम्बर हेरेर मात्रै पानी उपभोग गर्न उपभोक्तालाई आग्रह छ । किनभने, अनुज्ञापत्र लिएको उद्योगमा हामी निरीक्षण गरेर गुणस्तर नियन्त्रण गर्ने प्रयास गरिरहेका हुन्छौँ ।
प्रत्येक जारको क्यापमाथि पातलो प्लास्टिकको बिर्को (सिलिङ क्याप) लगाउन पानी उद्योगलाई निर्देशन दिएका छौँ । त्यस्तो प्लास्टिकको क्यापमा उद्योगको नाम, ब्याज नम्बर, अनुज्ञापत्र लेखिएको हुन्छ । सिलिङ क्याप उद्योगीसँग मात्रै हुन्छ ।
मसला
बेसार, खुर्सानीको धुलो, धनियाँ–जिरालगायतका मसला परीक्षण गर्दा पनि कम गुणस्तर रहेको पाइएको छ । कुनै मसलामा चाहिनेभन्दा बढी चिसोपना पाइन्छ, कुनैमा अरू वस्तुको मिश्रण बढी भएको पाइन्छ । जस्तै : बेसारमा धेरै चिसोपना हुने गरेको भेटिन्छ । त्यो भनेको पानीको मात्रा बढी हुनु हो । मसला चाहिनेभन्दा बढी चिसो हुनु भनेको प्याकेजिङ सामग्रीमै खराबी हो । प्याकेजिङ गर्ने प्लास्टिकको गुणस्तर कम भई हावा, पानी छिर्दा पनि चिसोपना देखिन्छ । त्यस्तै, मसला प्याकेटमा हाल्नुपूर्व नै बढी चिसो भएको पनि हुनसक्छ । कतिपय मसलाको कच्चा पदार्थको गुणस्तर पनि राम्रो नभएको देखिएको छ । जस्तै : धनियाँ, बेसार, जिरा भुइँमा सुकाउँदा धुलो आउँछ, त्यसलाई राम्ररी नछानी मसला तयार गर्दा गुणस्तर राम्रो हुँदैन । मसला कुन उद्योगको हो, प्याकेजिङ राम्रो छ कि छैन, अनुज्ञापत्र लिएको छ कि छैन भनेर हेरेर मात्रै खरिद गर्नुपर्छ । अनुज्ञापत्र लिएका उद्योगबाट उत्पादित मसला तुलनात्मक रूपमा स्वस्थकर हुने सम्भावना हुन्छ ।
दूध तथा दूधजन्य पदार्थ
उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने प्याकेटको प्रशोधित दूधमा पनि समस्या देखिन्छ । हामीले बजारमा उपलब्ध दूधलाई प्रयोगशालामा ल्याएर परीक्षण गरेमध्ये २४ प्रतिशत अर्थात् झन्डै एकचौथाइ दूध कम गुणस्तरको भेटिएको छ । खासगरी, दूधमा चिल्लो पदार्थ ३ प्रतिशत र एसएनएम ८ प्रतिशत तोकिएको छ । तर, दुवै तत्त्व तोकिएभन्दा कम हुने गरेको पाइन्छ । कम हुँदा उपभोक्ताको स्वास्थ्यलाई हानि गरिहाल्ने त हुँदैन, तर उद्योगीले बदमासी गरेर नाफा कमाएको ठहरिन्छ । त्यस्तै, सोडासमेत प्रयोग भएको पनि भेटिन्छ । खान मिल्ने सोडा (सोडियम बाइकार्बोनेट) प्रयोग भए त ठीकै हो, तर खान नमिल्ने सोडा प्रयोग भए स्वास्थ्यलाई प्रतिकूल मानिन्छ । यद्यपि, दूधमा खान मिल्ने सोडाको प्रयोग पनि निषेध नै छ । प्याकेटको दूधमा कोलिफर्मको उपस्थिति पनि देखिएको छ ।
धुलो दूधमा चिल्लो पदार्थको मात्रा तोकिएभन्दा बढी राख्ने र प्रोटिनको मात्रा कम हुने समस्या पाइएको छ । यो भने उद्योगको व्यवस्थापनले नियन्त्रण नगरेको भन्ने बुझिन्छ । घ्युमा पानीको मात्रा (जलांश) बढी हुने गरेको पाइएको छ । घ्युमा चाहिनेभन्दा बढी पानी राखेर उत्पादन गरेपछि तौल बढी हुने गर्छ । यसो गर्दा एक किलो घ्यु खरिद गर्ने उपभोक्ताले घ्यु मात्रै नपाएर पानी पनि खरिद गरे भन्ने बुझिन्छ ।
मिठाई
मिठाईमा अखाद्य रङको प्रयोग धेरै भएको पाइन्छ । होलीमा प्रयोग हुने रातो, निलोलगायतका रङ अखाद्य हुन् । यस्ता रङको उपभोगले क्यान्सरसम्म हुनसक्ने खतरा हुन्छ । बजारमा खाद्य रङ पनि छन् र निश्चित परिमाण मात्रै प्रयोग गर्न मिल्छ । कुनै पनि एक किलो खाद्यवस्तुमा दुई सय मिलिग्रामसम्म खाद्य रङ प्रयोग गर्न सकिन्छ । तर, खाद्य रङ हालेर पकाउन भने बन्देज छ । त्यसैले जेरी पकाउँदा सुरुमै बेसनमा खाद्य रङ प्रयोग गर्ने र पकाउने गर्नु हुँदैन भन्ने गरेका छौँ । जेरीलाई रातो देखाउन रङ प्रयोग गर्ने चलन छ । उपभोक्ताले रातो जेरी खरिद गर्दा यस्ता कुरामा विचार गर्नुपर्छ ।
त्यस्तै, ‘स्टार्च’ नामको खाद्यवस्तु पनि प्रयोग भएको पाइन्छ । सबै अन्नमा स्टार्च हुन्छ, यो कार्बोहाइड्रेडको स्रोत हो र पिठोसँग मिल्ने सेतो रङको हुन्छ । यसको प्रयोग हुँदा मिठाई कम गुणस्तरीय ठहरिन्छ । किनभने, दूधैदूधको मिठाई भनेर उपभोक्ताले खरिद गर्छ, तर व्यवसायीले स्टार्च मिसाएको हुन्छ । यो भनेको मुनाफाका लागि हो । यद्यपि, स्टार्च मिसावट भएको मिठाईले स्वास्थ्यमा खासै असर गर्दैन ।
जुस, जाम र पेय पदार्थ
जुसमा फलफूलको मात्रा कम रहेको भेटिन्छ । जस्तै : सुन्तलाको जुस भनेर व्यवसायीले उत्पादन गरे पनि तोकिएको परिमाणभन्दा सुन्तलाको रस कम राख्ने गरेको पाइन्छ । जाम, जेलीमा पनि फलफूलको मात्रा घटाउने र अखाद्य रङ हाल्ने गरेको देखिएको छ । अचार जति अमिलो हुनुपर्ने त्यति नभएको भेटिएको छ । हल्का पेय पदार्थको परिमाणमा ठगी भइरहेको छ । बोतलमा जति परिमाण राख्नुपर्ने हो, त्यति नराखी उपभोक्तालाई ठग्ने काम भइरहेको छ । चकलेट, मिठाई, क्यान्डीको माथिपट्टि सिल्भर कोटिङ गर्नुपर्नेमा सस्तो खालको आल्मुनियमको कोटिङ गरेको भेटिएको छ ।
चाउचाउ
चाउचाउमा प्रयोग हुने मैदा कम गुणस्तरको भेटिएको छ । मैदा बनाउँदा नै यस्तो कमजोरी भएको हुनसक्छ । त्यस्तै, न्यून गुणस्तरको तेल पनि प्रयोग भएको देखिन्छ । जुन चाउचाउमा कम गुणस्तरको तेल प्रयोग भएको हुन्छ, त्यस्तो चाउचाउको प्याकेट खोल्नासाथ ह्वास्स गनाउँछ ।
बिस्कुटको प्याकेजिङ
प्याकेजिङ सामग्री राम्रो भएन भने बिस्कुट ओसिने हुन्छ । एउटै ब्रान्डका बिस्कुट पनि एउटा प्याकेटको खाँदा झुरुमझुरुम हुने र अर्को फ्यासफ्यास हुनसक्छ । बिस्कुटको प्याकेट राम्ररी सिल नगर्दा बाहिरबाट हावा छिर्ने र ओसिलो हुने गर्छ । त्यसैले बिस्कुटमा कति ‘मोइस्चर’ हुने भन्ने मापदण्ड नै छ । उपभोक्ताले पनि ओसिएको नभई झुरुमझुरुम गर्ने बिस्कुट उपभोग गर्नु राम्रो हुन्छ ।
होटेल, रेस्टुरेन्टको खाना
राजमार्ग र उपत्यकाका होटेल, रेस्टुरेन्टमा उपभोक्ता बसेर खाने टेबुल, कुर्सी र कोठाको सरसफाइ राम्रो पाइन्छ । तर, पकाउने भान्साकोठा भने साँघुरो र फोहोर पाइएको छ । साँघुरोको भान्साबाट धेरैजनालाई पुग्ने खानेकुरा पकाउन गाह्रै हुन्छ । भान्सामा प्रयोग हुने टेबल, चपिङबोर्डलगायत फोहोर हुन्छ । एउटै चक्कुले काँचो र पाकेको खानेकुरा काट्ने गरेको पाइएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.