Advertisement
|
सौन्दर्य बढाउन कपालको भूमिका कति महत्वपूर्ण छ, सबैलाई थाहै छ । कपाल झरेर पातलो भएका तथा तालुखुइले भएकाले कपाल नहुनुको पीडा नमजासाग व्यक्त गरिरहेका हुन्छन् । त्यसो त टाउकोमा बाक्लो कपाल हुादैमा सुन्दर देखिने भन्ने पनि होइन । आफूलाई फिट हुने खालको हेयर स्टाइल दिएर मात्र सुन्दर लुक्स ल्याउन सकिन्छ । हेयर स्टाइलले व्यक्तिको आकर्षण नै भिन्न बनाइदिन्छ । व्युटिसियन सविना श्रेष्ठले कस्ता युवतीलाई कस्तो हेयर स्टाइल सुहाउछ भनेर टिप्स दिएकी छिन् :
लाम्चो अनुहार
लाम्चो अनुहार भएका युवतीलाई छोटो कपालमै ब्युटिफुल देखिन्छ । लामो कपालले अनुहारलाई झनै लाम्चो देखाउँछ ।
गोलो अनुहार
गोलो अनुहार भएका युवतीले चिउँडो या घाँटीसम्म आउने गरी ब्लन्ड या थाइकट गर्नु राम्रो हुन्छ । तर, यस्तो हेयर स्टाइल दिँदा बीचमा सिउँदो निकाल्नुपर्छ । यो स्टाइलले गोलो अनुहारलाई केही लाम्चो देखाइदिन्छ । गोलो अनुहार भएका युवतीले सेज्जी या फेडर कट भने राख्नु हुँदैन ।
बाटुलो अनुहार
बाटुलो अनुहार भएका युवतीलाई कर्ली हेयर स्टाइल सबैभन्दा उत्तम हुन्छ । तर, कपाल छोटो बनाएर कर्ली स्टाइल दिनुपर्छ । निधार कपालले छोपेको हुनुपर्छ । आइलाइनभन्दा तल भने झार्नु हुँदैन । लुज पर्म पनि गरिदियो भने खास राम्रो देखिन्छ ।
अन्डाकार अनुहार
अन्डाकार अनुहारमा सबै हेयर स्टाइल म्याच गर्छ । उमेरलाई ध्यान दिएर मात्रै सुहाउँदो कुनै स्टाइल दिन सकिन्छ ।
चुच्चो नाक
चुच्चो नाक भएका युवतीले टाउकोपछाडि हल्का च्यापेर कुमसम्म कपाल झार्दा उत्कृष्ट लुक्स आउँछ । निधारतर्फको भागमा हल्का छोटो पार्नुपर्छ । चुच्चे नाक भएका युवतीले कपाल बाँध्ने स्टाइललाई भने फलो नगर्नु नै राम्रो हुन्छ ।
छोटो घाँटी
घाँटी छोटो भएका युवतीले घाँटी छोपिने हेयर स्टाइल गर्नु हुँदैन । घाँटी देखिने गरी ब्वाइजकट गरेको राम्रो देखिन्छ । घाँटी र चिउँडो कपालले छोपिँदा घाँटी झन् छोटो देखिन्छ । यस्ता युवतीले बरु कपाल बाँध्नु राम्रो हुन्छ ।
ठूला कान
ठूला कान छन् भने छोपिने गरी कपाल छाड्नुपर्छ । बाँधेर स्टाइलिस बन्न सकिँदैन ।
सानो निधार
सानो निधार भएका युवतीले पूरै कपाल पछाडितिर लाँदा ब्युटिफुल लुक्स आउँछ । अगाडि कपाल झार्दा निधार झन् सानो बनाइदिएर नराम्रो देखाउँछ ।
अग्लो स्लिम शरीर
लामो र स्लिम शरीर भएका युवतीले निकै छोटो कपाल राखेको सुहाउँदैन । यस्तो हेयर स्टाइलमा फिगर बाँसजस्तो देखिन्छ । कुमभन्दा तलसम्म कपाल झार्ने स्टाइलमा ब्युटिफुल देखिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...