-->
‘पालो दिने साथीहरु त लास भइसकेछन् हामी कुर्दा कुर्दा : गार्ड सत्यनारायण
Advertisement

असार ९, २०७३- म सत्यनारायण श्रेष्ठ । लमजुङको गाउँशहर गाविसमा जन्मिएँ । बुवाआमासहित तीन दाजुभाइ, तीन दिदीबहिनीको परिवार । नेपाल आर्मीमा भर्ना भएँ । १६ वर्षमा रिटायर्ड भएँ । दुई छोरा–छोरी हुर्कंदै थिए । उनीहरुलाई राम्रो पढाउने, राम्रा लुगाफाटो लगाउने दायित्व मेरै थियो । पेन्सनले कत्ति पनि नहुने ।
कमाउने अरु उपाय थिएन । अरुजस्तै मेरो ध्यान पनि विदेशतिरै थियो । अफगानिस्तानमा राम्रो कमाइ हुन्छ भन्ने सुनेको थिएँ । त्यहाँ ज्यान खतरामा हुन्छ भन्ने पनि थाहा थियो ।
बुढीले सुरुमा त मेरो कुरा सुन्नै मानिनन् । धेरै खाने ठाउँमा थोरै खाउँला, बरु नमिठै खाउँला, राम्रो लगाउने ठाउँमा नराम्रै लाउँला पनि भनिन् । जानै दिइनन् । तर जिद्धि गरें । मैले उनलाई भनेको थिएँ, ‘भोलि छोराछोरीलाई राम्रो पढाउन सकिएन भने बाउआमाले पढाएन् भन्ने हुन्छ । नआत्तिनु, केही हुदैन । मजबुरी गर्दा तलमाथि भएछ भने मन बुझाउनु ।’ मजबुरी गर्दा जे पनि त हुन सक्छ π
परिवारलाई खुसी दिलाउन सक्छु कि, छोरा–छोरीलाई राम्रो पढाउँला, मिठो मसिनो खान दिउँला भनेर अफगानिस्तानतिरै हिंडे । भिजिट भिसामा २०६३ सालमा दिल्ली हुँदै अफगानिस्तान पुगें । अहिलेजस्तो त्यतिबेला अफगानिस्तान लैजाने मेनपावर कम्पनी थिएनन् । अफगानिस्तान ‘वार–जोन’ हो भन्ने राम्रै थाहा थियो ।
अमेरिकी दूतावासमा सेक्युरिटी गार्डका लागि विज्ञापन खुल्यो । मैले पनि अन्तर्वार्ता दिएँ । मसहित ३८ जना नेपाली छानियौं । ८ वर्ष यूएस एम्बेसीमा काम गरें । ११ सय यूएस डलर तलब थियो । २५ सय यूएस डलरमा एक वर्ष अष्ट्रेलियन एम्बेसीमा पनि काम गरें । त्यही कमाईले चितवनमा घर बनाएँ । एक दुई ठाउँ घडेरी जोडें । अब नजानुपर्यो भनेर बसेको थिएँ, नाकाबन्दी लाग्यो । नाकाबन्दी खुल्ला र केही व्यवसाय गरौंला भनेर बसें, खुलेन । फेरि दुई वर्षे श्रम गरेर काबुलमा क्यानेडियन एम्बेसीमा काम गर्न गएको ५ महिना भएको थियो ।
पर्खिबस्यौं, तर आएनन्
क्यानेडियन एम्बेसीमा १ सय ४७ जना नेपाली थियौं । ३३ जनाले सायद छाडिसके भन्ने सुनेको थिएँ । हामी क्यानेडियन एम्बेसीबाट करिव ३ किलोमिटर टाढाको काबुल लज भन्ने ठाउँमा क्याम्पमा बस्थ्यौं ।
हामी ड्युटी १२ घण्टाको थियो । सम्झौतामा ८ घण्टा भनिए पनि १२ घण्टा काम गर्नुपर्थ्यो । ४ घण्टा ओभरटाइम दिने भनिएको थियो । तर, पाएनौं । ९ सय ५० डलर तलब छ ।
सेक्युरिटीको दुई सिफ्ट थियो । ६ गते सोमबार पनि राति मेरो ड्युटी थियो । बिहान साथीहरु आएपछि क्याम्प फिर्ने तरखरमा थियौं । हरेक सिफ्टमा हामीलाई दुइटा गाडीले ओसार्थ्यो । त्यो दिन पनि पहिलो गाडी आयो । सँगै आउनुपर्ने अर्को गाडी आएन । एकैछिनमा खबर आयो, दोस्रो गाडी विष्फोटमा पर्यो भनेर । एम्बेसीमा ठूलो हल्लाखल्ला भयो ।
क्याम्पदेखि ५० गज टाढा साथीहरु विष्फोटमा पर्नुभयो । क्याम्पमा भएका साथीहरुले चिच्याएको कोलाहल सुन्नुभयो । तर हामीलाई आफूखुसी निस्कने अनुमति हुँदैन । फेरि अर्को पड्किएला कि भन्ने पनि त्रास भएछ । भगवान् जप्नुभन्दा अर्को कुनै विकल्प भएन । ड्युटी ह्यान्डओभर गरेर निस्कन लागेका हामीहरु पनि रोकियौं । हामीलाई बिदा गर्न आउने साथीहरु लास भइसक्नुभएको थियो ।
एम्बेसीले हामीलाई केही थाहा छैन भन्नु भनेको थियो । हामी चाँही थाहा पाएको कुरा जसले फोन गरे पनि भनेका थियौं । परिवारको फोन तारान्तार आयो । हामी सेफ छौं भन्यौं । फर्कन तयार भएका हाम्रो ड्युटी लम्बियो । भोक र निन्द्रा नै हरायो । पालैपालो ड्युटी मिलायौं ।
काबुलकै यूएस एम्बेसीमा काम गर्दा सेप्टेम्बर ११, २०११ मा अट्याक भएको सम्झना आयो । मन साह्रै आत्तियो । त्यतिबेला २४ घण्टासम्म पानी पनि खान पाइएन । दिनभरी चल्न चटपटाउन दिइएको थिएन । एम्बेसीमा दुइटा बम झारिएको थिएन ।
शंका
सिफ्टअनुसार बिहान–बेलुका गाडी आउजाउ गर्दथ्यो । तर, समय थोरै तलमाथि पारेर हिंड्ने चलन थियो । रुट भने कहिलेकाँही परिवर्तन गरिन्थ्यो ।
हाम्रो मुभिङ यतिबेला हुँदैछ भन्ने कसैले पनि थाहा पाउँदैनथ्यो, लोकल (अफगानी) गार्डबाहेकले । मलाई शंका छ, लोकल गार्डले थाहा पाएर सेक्युरिटी लुज गरेको हुनुपर्छ । सेक्युरिटीकै कारण कहिले सिधै र कहिले बजार घुमाएर एम्बेसी लगिन्थ्यो ।
सेक्युरिटीमा हेलचेक्र्याईं
क्यानेडियन एम्बेसीलाई १७–१८ तारिखदेखि नै टार्गेट गरेको भन्ने पनि सुनियो । नेपालीलाई पनि टार्गेट भएको पनि सुनिथ्यो गाईंगुईं । हामी सेफमा छैनौं भन्ने पहिले नै थाहा थियो ।
बुलेटप्रुफ गाडी थिएन । हामीलाई बोक्ने गाडी त पूरै कबाडी थियो । गएको गाडी फर्कंदा बिग्रिसकेको हुन्थ्यो । बुलेटप्रुफ गाडी गोराहरुमात्रै चढ्थे ।
एम्बेसी सेक्युरिटीमा सहयोग गर्नेलाई टार्गेट गरिएको भनेर पत्रिकामा नै आएको थियो । किनकि सेक्युरिटीमा धेरै नेपाली थिए । थोरैमात्र क्याटरिङमा छन्, बाँकी सबै नेपाली सेक्युरिटीमै छन् ।
अनि फर्कियौं
घटनापछि धेरै फोन आयो । सेक्युरिटी नै हुँदैन भने पैसा पैसा भनेर कत्ति दिन बस्ने भन्ने मनमा आयो । घरमा पनि खाली रुवाबासी हुन थाल्यो । श्रीमती, छोराछोरी र बुढी आमालाई सम्झिएँ । हामीलाई सेक्युरिटी दिन सक्दैनौ भने हामी बस्दैनौं, जान्छौं भन्यौं । तर, उत्तर आएन ।
यत्तिकैमा ‘डेथ बडी’ लिन नेपालबाट जहाज आउँदैछ भन्ने सुन्यौं । मिडियाहरुमा नेपालबाट आउने चार्टर विमानमा फर्कन चाहनेलाई ल्याइने भन्ने थाहा पाइयो । नेपाली राजदूतको फोन नम्बर पत्ता लगाएर कुरा गर्यौं । उहाँले कति समयमा आउन सक्नुहुन्छ भन्नुभयो । हामीले एक घण्टामा लगेर लिएर एयरपोर्ट आउँछौं भन्यौं, हतार हतार एयरपोर्ट पुगियो ।
द्वन्द्वमै बित्यो जीवन
नेपालको सैनिक जीवनमा पनि माओवादी युद्ध भोगियो । फापरबारीमा माओवादीसँग भिड्नुपर्यो । अरु दुई तीनवटा साना भिडन्तमा परें, जोगिएँ । परिवारलाई खुसी बनाउन वार जोन भन्ने जान्दाजान्दै अफगानिस्तानमा १० वर्ष बित्यो ।
अब जान्नँ । भिसा छ, दुई वर्षको श्रम नै गरिसकेको छ, आउन जानलाई कुनै समस्या छैन । तर कम्पनीले बोलाए पनि जान्न । अब हापियो । खान लाउन पुग्छ, काम गर्ने बानी परेको छ, यतै केही गर्नुपर्छ भन्ने लागेको छ ।
मर्दा पनि गोली चलाएर परेको पो अर्थ हुन्छ । हामीलाई गोली चलाउने अनुमति हुँदैन । अन्तिम अवस्थामामात्रै गोली चलाउने आदेश हुन्छ, त्यति नहुँदै सास गइसकेको हुन्छ । मर्नु भनेको त लडेर मर्नु, त्यसै मर्नु त कुकुर मरेबराबर हो ।
पैसा भनेको पनि अचम्मकै चिज रहेछ । पैसा ठूलो चिज हो । अहिले पैसा केही रहनेछ भन्ने लागेको छ । ती मरेका साथीहरु पैसाका लागि त गए । जाने बेलामा लान पनि पाएनन् । घर परिवारलाई बरु उल्टै पीडा भयो । पैसा केही होइन, नभइ पनि नहुने । पैसा भन्दा घर परिवार ठूलो रहेछ । मिठो मसिनोको सट्टा ढिडोंफाडो खाएरै बस्नु ठीक लाग्यो ।
सरकारको ऋणी भएँ
म अहिले नर्कबाट स्वर्गमा आएँ जस्तो भएको छ । काबुलमा विष्फोटमा परेका डेथ बडी ल्याउन र विपतमा परेका हामीलाई उद्धार गरेर नेपाल सरकारले जीवनमै बिर्सन नसक्ने काम गरेको छ ।
नेपालले जति यति छिटो कुनै पनि देशले डेथ बडी लगेको थिएन । प्रोसेसमा धेरै दिन लाग्थ्यो । म कुनै पार्टीको होइन, तर ओली सरकार र परराष्ट्रमन्त्री कमल थापाले ठूलो गुन लगाउनुभएको छ । हामी ऋणी भएका छौं । ओली सरकार अर्को ५ वर्षसम्म पनि रहिरहोस् ।
प्रस्तुति: शेखर अधिकारी/कान्तिपुर दैनिक


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.